जीतपुर । शान्ति युवा विकास मञ्चको आयोजनामा जारी जीतपुर क्रिकेट लिगमा शनिबार सम्पन्न खेलहरूमा जीतपुर स्टार, जीतपुर थन्डर र जीतपुर टाइगर विजयी बनेका छन्। लगातार प्रतिस्पर्धात्मक खेलहरूका कारण प्रतियोगिता थप रोमाञ्चक बन्दै गएको छ।
मञ्चका सचिव अशोक दासका अनुसार दिनको पहिलो खेलमा जीतपुर किङ्गले निर्धारित ओभरमा ७७ रन बनाएको थियो। ७८ रनको लक्ष्य पछ्याएको जीतपुर स्टारले संयमित ब्याटिङ प्रदर्शन गर्दै लक्ष्य पूरा गरी जित आफ्नो पक्षमा पार्यो। टोलीका कप्तान रमेश ठाकुरले खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन र सामूहिक प्रदर्शनका कारण सफलता प्राप्त भएको प्रतिक्रिया दिए।
दोस्रो खेलमा जीतपुर थन्डरले ८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको रिफात फार्मेसी ५० रनमै समेटिएपछि थन्डरले सहज जित हात पर्यो। त्यसपछि भएको तेस्रो खेलमा जीतपुर टाइगरले ८५ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्यो। लक्ष्य पछ्याउने क्रममा जीतपुर स्टार ६५ रनमै रोकिएपछि टाइगर २० रनले विजयी बन्यो।
दिनको अन्तिम खेलमा भने जीतपुर थन्डरले उत्कृष्ट प्रदर्शन गर्दै १०५ रन बनायो। १०६ रनको लक्ष्य पछ्याएको जीतपुर किङ्ग ६० रनमा अलआउट भएपछि थन्डरले अर्को प्रभावशाली जित दर्ता गर्यो। प्रतियोगितामा जयकुमार हालसम्म उत्कृष्ट लयमा देखिएका छन्। उनी सर्वाधिक रन बनाउने तथा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अग्रस्थानमा रहेका छन्।
स्थानीय स्तरमा क्रिकेटको विकास गर्नुका साथै युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलप्रेमीहरूको उल्लेख्य आकर्षण बटुलिरहेको आयोजकको भनाइ छ। असार १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आगामी दिनका खेलहरू अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।


