ब्राउन सुगर मुद्दाका फरार अभियुक्त अमलेखगञ्जबाट पक्राउ

साझेदारी डेलि
357 पाठक संख्या

जीतपुर । लागुऔषध कारोबारसम्बन्धी मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एक अभियुक्तलाई बारा प्रहरीले विशेष सूचनाका आधारमा अमलेखगञ्जबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–७ जीतपुर निवासी करिब ३० वर्षीय कुन्दन गुप्ता रहेका छन्। उनीविरुद्ध बारा जिल्ला अदालतले २०८३ असार ३१ गते लागुऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। त्यसयता उनी फरार रहँदै आएका थिए।

इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा परिचालित टोलीले बुधबार बिहान करिब ७ः३० बजे जितपुरसिमरा–२१ स्थित अमलेखगञ्ज वडा कार्यालय नजिकैबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फरार अभियुक्तको गतिविधिमाथि केही दिनदेखि निगरानी राखिएको थियो। गोप्य सूचनाका आधारमा खोजतलास तीव्र बनाइएपछि उनी लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन्।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका गुप्ताविरुद्ध ब्राउन सुगर कारोबारमा संलग्न रहेको आरोपमा यसअघि नै मुद्दा दर्ता भइसकेको र घटनापछि उनी सम्पर्कविहीन बनेका थिए। स्थानीय स्रोतहरूले उनलाई जितपुरसिमरा क्षेत्रमा लागुऔषध कारोबारसँग जोडिएको व्यक्तिका रूपमा चिन्ने गरेको बताए पनि त्यसबारे थप पुष्टि अनुसन्धानबाट हुने प्रहरीले स्पष्ट पारेको छ।

पक्राउ परेका गुप्तालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा अदालतमा उपस्थित गराउने प्रयोजनका लागि इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय बाराले अदालतबाट फरार रहेका अभियुक्तहरूको खोजी अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ। अपराधमा संलग्न भई फरार रहेका व्यक्तिलाई कानुनी दायरामा ल्याउने अभियान आगामी दिनमा अझ प्रभावकारी ढंगले सञ्चालन गरिने प्रहरीको भनाइ छ।

Leave a review

This will close in 0 seconds