कलैया । बजारमा एलपी ग्याँस आपूर्तिलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय बाराले निर्देशन दिएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बुधबार एक सूचना जारी गरी यस्तो निर्देशन दिएका हुन्।
बारा जिल्ला भित्र हाल बजारमा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति तथा वितरणका सन्दर्भमा उपभोक्ताहरूबाट प्राप्त गुनासो एवं उजुरीहरूप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको सूचनामा जनाइएको छ। बाजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन, आपूर्ति व्यवस्थालाई सहज, पारदर्शी र मर्यादित बनाउनका लागि जिल्लामा अवस्थित सम्पूर्ण एलपी ग्यास उत्पादक, वितरक तथा डिलरहरूले अनिवार्य रूपमा निर्देशनको पालना गर्नु/गराउनु हुन सूचनामा भनिएकोे छ।

तोकिएको परिमाण, गुणस्तर तथा मापदण्ड अनुसार नै उपभोक्तालाई ग्यास उपलब्ध गराउन सूचनामा लेखिएको छ। नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी मूल्यमा ग्यास सिलिन्डर विक्री वितरण नगर्ने÷नगराउन भनिएको छ। ग्यास सिलिन्डरको भण्डारण तथा विक्री वितरण गर्दा निर्धारित सुरक्षा मापदण्डको पूर्ण रूपमा पालना गर्न सूचनामा निर्देशन दिइएको छ। उपभोक्तालाई सुरक्षित तथा तोकिएको मापदण्ड अनुसारको ग्यास सिलिन्डर मात्र विक्री वितरण गर्न तथा उपभोक्तालाई ग्यास वितरण प्रणाली पारदर्शी बनाउन सूचनामा उल्लेख गरिएको छ।
अनावश्यक संचिति नहुने गरी खाली सिलिन्डर प्राप्त भए पश्चात मात्र नयाँ सिलिन्डर विक्री वितरण गर्न सूचनामा निर्देशन दिइएको छ।सबै डिलरहरुले उद्योगबाट खरिद गरिएको ग्यासको परिमाण, विक्री विवरण तथा मौज्दातको अभिलेख व्यवस्थित रूपमा राखी सो को विवरण जिल्ला प्रशासन कार्यालय बारामा पठाउन समेत भनिएको छ। विक्रेताहरुले एक सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास खन्याएर खुद्रा रूपमा विक्री गर्ने जस्ता जोखिमपूर्ण तथा गैरकानुनी कार्य नगर्न आग्रह गरिएको छ। समय–समयमा गरिने बजार अनुगमन तथा निरीक्षणका क्रममा अनुगमन टोलीले दिएका निर्देशनहरूको पूर्ण पालना गर्न सूचनामा भनिएको छ।
अनुगमनको क्रममा निर्देशनहरू पालना नगरेको, ग्यासको कालोबाजार वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी समेत सो सूचनामा दिइएको छ। कोही कसैले एल.पि. ग्यासको कालोबाजार वा कृत्रिम अभाव सिर्जना गरेको पाईएमा सहायक प्रमुख जिल्ला अधिकारीलाई ९८५५०४५४०३ मा सम्पर्क गर्नु वा ह्वाट्सएप ९८५५००७७७८ नम्बरमा सन्देश पठाउन समेत प्रशासनले भनेको हो।


