रौतहट । रौतहटको बृन्दावन नगरपालिका–२ बिश्राम्पुरमा एलानी जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका ६ जना सुकुम्बासीको घर नगरपालिकाले डोजर लगाएर भत्काइदिँदा उनीहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्।
नगरपालिकाको डोजर चलेपछि ६ सुकुम्बासी परिवार एकैछिनमा बासविहीन अर्थात बिस्थापित नै हुन पुगेका छन ।
हिजो अचानक डोजर चलाएर घर भत्काइएपछि पीडित परिवारसँग बस्ने ठाउँ मात्रै होइन, दैनिक खाना जुटाउने समस्या समेत थपिएको छ। घरभित्रका लत्ताकपडा, भाँडाकुँडा र आवश्यक सामानसमेत निकाल्न नदिई घर भत्काइएकाले उनीहरूको अवस्था थप दयनीय बनेको छ।
पीडितहरूका अनुसार आफूहरूले घर आफैं हटाउन दुई दिन समय दिन आग्रह गरे पनि नगरपालिकाले बेवास्ता गर्दै बल प्रयोग गरेको हो।
हिजो बिहानै कुनै पूर्वतयारी बिना पुगेको डोजरले घरमाथि जथाभावी चल्दा पीडितहरू आफ्नो लत्ताकपडा, अन्नपात र भाँडाकुँडा समेत जोगाउन सकेनन्। “दुई दिन समय दिनुस्, हामी आफैं हटाउँछौं” भन्ने आग्रहसमेत बेवास्ता गर्दै नगरपालिकाले बल प्रयोग गरेको उनीहरूको गुनासो छ।
उनीहरूले गत फागुन २१ गतेको चुनावमा भोट नदिएको रिस साध्दै नगर प्रमुख विनोद प्रसाद कुर्मी र वडा अध्यक्ष सिकेन्द्र पटेलले लक्षित रूपमा आफूहरूको घर भत्काएको आरोप लगाएका छन्।
उक्त स्थानमा करिब ११ कठ्ठा एलानी जग्गा रहेको र त्यहीँ नगरपालिकाको भवन निर्माण भइरहेको बताइएको छ।
पीडितहरूको दाबी अनुसार मेयर बिनोद प्रसाद कुर्मी र वडा अध्यक्ष सिकेन्द्र पटेलले सोही जग्गामा बसोबास गर्ने आफ्ना नजिकका र एउटै समुदायका व्यक्तिहरूको घर भने जोगाइदिएका छन, नगर प्रमुख कुर्मिले पक्षपात गर्दै आफ्ना मान्छेको घर जोगाएर आफूहरूलाई मात्रै हटाएको उनिहरुको आरोप छ ।
डोजर चलाउँदा बृन्दावन नगरपालिका वडा नं. २ का सैनुल नट, दिगम्बर ठाकुर, लालबाबु ठाकुर र अजय ठाकुरसहितका परिवार पूर्ण रूपमा विस्थापित भएका छन्। अहिले उनीहरू स-साना बालबालिकासहित खुला आकाशमुनि रात काट्न बाध्य छन्।
“अब बस्ने ठाउँ छैन, खानेकुरा छैन, लगाउने कपडा पनि छैन,” पीडितहरूले गुनासो गर्दै भने, “हामीसँग आफ्नै जग्गा जमिन पनि छैन, अब कहाँ जाने र के खाने भन्ने चिन्ता छ।”
पीडितहरूले माग गरेका छन्, यदि एलानी जग्गा खाली गराउनुपर्छ भने सबैको घर समान रूपमा हटाइनुपर्छ, उचित मुआब्जा दिनुपर्छ र सुकुम्बासी भएकाले बसोबासका लागि वैकल्पिक जग्गा उपलब्ध गराइनुपर्छ।
त्यस्तै, तत्काल राहतस्वरूप खाद्यान्न, भाँडाकुँडा, त्रिपाल, लत्ताकपडा र अस्थायी टहराको व्यवस्था गर्न उनीहरूले नगरपालिका समक्ष आग्रह गरेका छन्।
आफूहरूले पटक पटक बसोबासको व्यवस्था मिलाइदिन अनुरोध गर्दा पनि नगर प्रमुख कुर्मीले कुनै चासो नदिएको उनीहरूको आरोप छ।
पीडितहरूले आफ्ना मागहरू सम्बोधन नगरेमा नगरपालिका विरुद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्। “हाम्रो माग सुनुवाइ भएन भने हामी चुप लागेर बस्दैनौं, आन्दोलनमा जान बाध्य हुन्छौं,” उनीहरूले बताएका छन्।
घटनाबारे प्रतिक्रिया लिन मेयर कुर्मीलाई सम्पर्क गर्दा उनको फोन उठ्न सकेन। एकै झट्कामा घर उजाडिँदा यी परिवारको जीवन अन्धकारतर्फ धकेलिएको छ, जहाँ आज उनीहरूसँग न आश्रय छ, न भोलिको कुनै निश्चितता।

