बारामा सिडिओ मिश्रद्वारा आठ ग्यास डिलरमा छड्के अनुगमन

संदिप प्रसाद यादव
134 पाठक संख्या

कलैया । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न तथा सहज आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले बारामा सञ्चालित विभिन्न ग्यास उद्योग तथा डिलरहरूमा जिल्ला सुरक्षा समितिले छड्के अनुगमन गरेको छ । आइतबार जिल्ला सुरक्षा समितिले जिल्लाका आठ वटा ग्यास उद्योग तथा डिलरमा छड्के अनुगमन गरेको हो ।

अनुगमन टोलीले कलैया उपमहानगरपालिका–१४ बघवनस्थित रोहित इन्टरप्राइजेज, महागढीमाई नगरपालिका–२ बरियारपुर बजारस्थित जितप्रकाश जेनरल स्टोर्स, महागढीमाई–१ स्थित राधेकृष्ण ग्यास पसल, महागढीमाई–३ गन्जभवानीपुरस्थित राधेश्याम स्टोर्स, करैयामाई गाउँपालिका–४ स्थित राजन स्टोर्स, करैयामाई–१ स्थित भगवानी सहनी किराना तथा जेनरल स्टोर्स, करैयामाई–१ स्थित जयबाबु स्टेसनरी स्टोर्स र करैयामाई–१ मधुवनस्थित ओमप्रकाश ग्यास पसलको अनुगमन गरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार अनुगमन गरिएका कुनै पनि डिलरमा कालोबजारी, नाफाखोरी वा कृत्रिम अभाव सिर्जना गरिएको पाइएन । जिल्लामा उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गरिरहेको अवस्था देखिएको उनले बताए ।

उद्योगी, वितरक तथा उपभोक्तासँग गरिएको छलफलका आधारमा भविष्यमा ग्यास नपाइने हो कि भन्ने असुरक्षाका कारण केही उपभोक्ताले घरमा अतिरिक्त सिलिन्डर मौज्दात राख्न खोज्दा बजारमा केही दबाब सिर्जना भएको पाइएको सिडिओ मिश्रले बताए । ‘यद्यपि, सार्वजनिक रूपमा चर्चा भएजस्तो जटिल समस्या बारा जिल्लामा देखिएको छैन,’ उनले भने ।

सिडिओ मिश्रका अनुसार हाल उपभोक्ताको विवरण तथा रेकर्ड राखेर प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । बजारमा अस्वस्थ प्रतिस्पर्धा तथा कृत्रिम अभाव हुन नदिन अनुगमनलाई निरन्तरता दिइने उनले बताए ।

उनका अनुसार पछिल्लो ६२ घण्टादेखि ग्यास नपाएको भन्ने कुनै गुनासो समेत प्राप्त भएको छैन । जिल्लाको समग्र ग्यास बजारको अवस्था सामान्य रहेको भन्दै उनले उपभोक्ताहरू त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारे ।

उक्त अनुगमनमा प्रमुख जिल्ला अधिकारी मिश्रसहित रिपुमर्दन गणका प्रमुख सेनानी गिरिराज गौतम, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक मीनबहादुर घले तथा सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

Leave a review