बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले सामाजिक परीक्षण गरेको छ। उस्ले शैक्षिक सत्र अन्तर्गत सामाजिक परीक्षण प्रस्तुतीकरण, प्रबोधीकरण, अनुमोदन तथा अभिभावक भेला सम्पन्न गरेको हो। विद्यालयको शैक्षिक, आर्थिक तथा प्रशासनिक गतिविधिलाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा विद्यालयको वार्षिक आय–व्यय, शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, छात्रवृत्ति, पाठ्यपुस्तक वितरण तथा विद्यालय सुधार योजना (एसआईपी) को कार्यान्वयन अवस्थालगायत विषय सार्वजनिक गरिएको थियो।कार्यक्रममा मध्य विद्यालय सामाजिक परीक्षण प्राविधिक उपसमितिका संयोजक पशुराम श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। आर्थिक वर्ष २०८२/०८३ मा विद्यालयको कुल आय ३ करोड ८९ लाख ३३ हजार २ सय ६३ रुपैयाँ रहेको उनले जानकारी दिए।
सोही अवधिमा विद्यालयको कुल व्यय ३ करोड ७५ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ। सामाजिक परीक्षकले विद्यालयको समग्र अवस्थासहित सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा विद्यालयको भौतिक पूर्वाधार, विद्यार्थीलाई प्रदान गरिएको छात्रवृत्ति तथा पाठ्यपुस्तक, विद्यालय सुधार योजनाको कार्यान्वयन र विभिन्न सूचकमा भएको प्रगतिको समीक्षा गरिएको थियो।त्यसैगरी, प्रधानाध्यापक शंकरकुमार आचार्यले विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक अवस्थासम्बन्धी प्रतिवेदन प्रस्तुत गरे। उनले लक्ष्य अनुसार हासिल हुन नसकेका उपलब्धिका कारण, सुधार गर्नुपर्ने क्षेत्र तथा आगामी दिनमा विद्यालयले अघि बढाउने योजनाबारे जानकारी गराए।
कार्यक्रममा सहायक प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि डम्बर खड्काले सामाजिक परीक्षणको उद्देश्य, प्रक्रिया र यसको महत्वबारे प्रबोधीकरण गरेका थिए। प्रतिवेदन प्रस्तुतिपछि अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाबीच खुला अन्तरक्रिया गरिएको थियो। छलफलका क्रममा सहभागीहरूले विद्यालयको शैक्षिक गुणस्तर, पूर्वाधार, व्यवस्थापन तथा विद्यार्थीको सिकाइ उपलब्धिसँग सम्बन्धित विभिन्न जिज्ञासा र सुझाव राखेका थिए।
उठेका प्रश्नहरूको प्रधानाध्यापक आचार्य तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले जवाफ दिएका थिए। वि.सं. २०१४ सालमा स्थापना भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले सिमरा क्षेत्रको शैक्षिक विकासमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै भेलामा प्रस्तुत सामाजिक परीक्षण प्रतिवेदन तथा विभिन्न एजेन्डा सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।
विद्यालयको आय–व्ययदेखि शैक्षिक उपलब्धि र भौतिक अवस्थासम्मका विषय अभिभावक तथा सरोकारवालामाझ सार्वजनिक गरी खुला छलफल गर्ने अभ्यासले विद्यालयको पारदर्शिता र जवाफदेहिता बढाउन सहयोग पुगेको सहभागीहरूको भनाइ थियो।कार्यक्रमको समापनमा विद्यालय प्रशासन तथा व्यवस्थापन समितिले सामाजिक परीक्षणबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै शैक्षिक गुणस्तर सुधार, कमजोर देखिएका सूचकमा प्रगति हासिल तथा विद्यालयलाई थप प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा विद्यार्थी अभिभावक संघका अध्यक्ष श्याम मण्डल, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, शिक्षक तथा शिक्षिकालगायतको सहभागिता रहेको थियो।


