जीतपुरमा २८० किलोको लड्डु मुख्य आकर्षण, सात दिन गणेश चतुर्थी महोत्सव

रञ्जन यादव
52 पाठक संख्या

जीतपुर । बाराको जीतपुरमा गणेश चतुर्थीको अवसरमा यस वर्ष २८० किलो तौलको विशाल लड्डु तयार पारिने भएको छ। श्री सिद्धि विनायक पूजा समितिको आयोजनामा भाद्र २९ गतेदेखि सात दिनसम्म गणेश चतुर्थी पूजा तथा धार्मिक–सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको हो।

जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित साविक गाविस कार्यालयअगाडिको मैदानमा हुने महोत्सवबारे आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। विगतमा पाँच दिनसम्म आयोजना हुँदै आएको पूजा यसपटक तिथि र समयअनुसार सात दिनसम्म सञ्चालन गर्न लागिएको समितिले जनाएको छ।

महोत्सवको पहिलो दिन गणेश भगवानको मूर्ति तथा पूजासहित भव्य शोभायात्रा निकालेर कार्यक्रमको औपचारिक सुरुवात गरिने समितिका अध्यक्ष श्रीराम साह कानुले जानकारी दिनुभयो। धार्मिक झाँकीसहित निकालिने शोभायात्रामा एउटा हात्ती र पाँच वटा घोडासमेत सहभागी गराइने समितिका उपाध्यक्ष जयसागरले बताउनुभयो।

यस वर्ष तयार पारिने २८० किलोको लड्डुलाई महोत्सवको मुख्य आकर्षण बनाइएको छ। गत वर्ष २७० किलोको लड्डु तयार पारिएको थियो। यसपटक त्यसमा १० किलो थप गरी २८० किलो पु¥याइएको आयोजकले जनाएको छ। पूजा तथा आरतीपछि महोत्सव अवधिभर दैनिक ५० किलो लड्डु प्रसादका रूपमा भक्तजनलाई वितरण गरिने अध्यक्ष कानुले बताउनुभयो।

महोत्सवमा धार्मिक कार्यक्रमसँगै दैनिक भजन–कीर्तन तथा साँझ र रातिको समयमा विभिन्न धार्मिक एवं सांस्कृतिक झाँकी प्रस्तुत गरिने समितिका सचिव अशोक दासले जानकारी दिनुभयो। बालबालिका तथा सर्वसाधारणको मनोरञ्जनका लागि रोटे पिङ, सर्कसलगायतका सामग्रीसमेत राखिने आयोजकले जनाएको छ।

महोत्सव सञ्चालनका लागि करिब ७ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको समितिका कोषाध्यक्ष शनि जैसवालले बताउनुभयो। जीतपुरमा गणेश चतुर्थीका अवसरमा विगत १९ वर्षदेखि पूजा तथा महोत्सव आयोजना हुँदै आएको समितिले जनाएको छ।

धार्मिक आस्था, स्थानीय संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले यस वर्ष कार्यक्रमलाई थप व्यवस्थित र आकर्षक बनाइएको आयोजकको भनाइ छ। महोत्सव अवधिभर पूजा स्थलमा भक्तजनको सहज आवागमन, प्रसाद वितरण तथा आवश्यक व्यवस्थापन मिलाइने समितिले जनाएको छ।

Leave a review