कलैया : हिन्दु धर्मावलम्बीहरूले माघे संक्रान्ति पर्व बिहीबार बारामा हर्षोल्लासका साथ मनाएका छन्। जिल्लाका १६ वटै स्थानीय तहमा रहेका हिन्दु समुदायले परम्परागत विधि र संस्कारअनुसार यो पर्व श्रद्धा र आस्थाका साथ सम्पन्न गरेका हुन्।
माघे संक्रान्तिको अवसरमा श्रद्धालुहरू बिहानै उठेर नुहाइ–धुवाइ गरी घर–घरमा देवी–देवताका पूजा–अर्चना गरेका थिए। पूजापछि तिल, चामल, घिउ, चाकु लगायतका सामग्री चढाइ खिचडी पकाएर खाने परम्परा अनुसार पर्व मनाइएको स्थानीयवासीहरूले बताएका छन्। जाडो मौसमबाट मुक्त हुने पर्वका रूपमा लिइने माघे संक्रान्तिमा घिउ, तिल, चाकु, तरुल, सखरखण्ड जस्ता पोषिलो परिकार खाने चलन रहँदै आएको छ।
आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ। धार्मिक विश्वासअनुसार माघे संक्रान्तिमा स्नान, दान र पूजा गरेमा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ।
माघे संक्रान्तिका अवसरमा भारतका काशी, प्रयाग, हरिद्वार तथा विशेष गरी गंगासागरमा स्नानको विशेष महत्त्व रहेको छ। भगिरथले पृथ्वीमा गंगाको अवतरण गराई आफ्ना पूर्वजहरूको उद्धार गरेको मानिने गंगासागरमा मकर संक्रान्तिका दिन महास्नान गर्नेहरूको ठूलो मेला लाग्ने गर्दछ। नेपालमा पनि कन्काई, सप्तकोसी, चतरा धाम, वराहक्षेत्र, देवघाट, त्रिशूली, बागमती, रिडी क्षेत्र, गण्डकी लगायतका नदी तथा तीर्थस्थलहरूमा श्रद्धालुहरूको घुइँचो देखिएको छ।
धार्मिक मान्यताअनुसार यस दिन स्नान, दान, जप तथा व्रत बस्ने विधान रहेको छ। संक्रान्तिका दिन पितृहरूको तृप्तिका लागि श्राद्ध तथा देवताहरूको प्रसन्नताका लागि हवन गर्ने परम्परा पनि रहेको छ। पितृपूजनपछि देवपूजन र हवन गर्नुपर्ने शास्त्रीय मान्यता छ।
माघे संक्रान्तिमा भगवान् नारायण र शिवजीका मन्दिरमा तिलको तेलमा बत्ती बाल्दा विशेष पुण्यफल प्राप्त हुने धार्मिक विश्वास छ। विशेष गरी मकर संक्रान्तिका दिन अग्निस्थापना गरी विष्णु भगवानको १०८ आहुति हवन गर्ने परम्परा रहेको छ। माधव–नारायणलाई यस पर्वका प्रमुख देवता मानिन्छ।
यस अवसरमा तिलको लड्डु, तरुल, सखरखण्ड, घिउ, चाकु, खिचडी लगायतका परिकार भगवानलाई अर्पण गरी दान गर्ने र स्वयं सेवन गर्ने चलन छ। माघ महिनामा घिउ, वस्त्र र कम्बल दान गर्दा अनन्त फल प्राप्त हुने शास्त्रोक्ति रहेको बताइन्छ। तिलको विशेष महत्त्वका कारण माघ कृष्ण पक्षको एकादशीलाई ‘षट्तिला एकादशी’ भनिन्छ।
स्वास्थ्यका दृष्टिले पनि माघे संक्रान्तिको परिकार उपयोगी मानिन्छन्। तिल, घिउ, चाकु, सखरखण्ड, तरुल, पिँडालु लगायतका खाद्य पदार्थले जाडो मौसममा शरीरलाई ऊर्जाशील बनाउने, पाचन प्रणाली सुधार गर्ने तथा रुघाखोकी र चिसोबाट जोगाउन मद्दत गर्ने जानकारहरूको भनाइ छ। यसरी धार्मिक, सांस्कृतिक र स्वास्थ्यका दृष्टिले महत्त्वपूर्ण मानिने माघे संक्रान्ति पर्व बारामा परम्परा र उत्साहका साथ सम्पन्न भएको छ।



