बारा। बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले संविधान नागरिकका हक-अधिकार सुनिश्चित गर्ने देशको मूल कानुन भएको बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शनिबार जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अधिकारीले नागरिकका इच्छा, आकांक्षा र तत्कालीन राजनीतिक अवस्थाको समाधानसँगै संविधान जारी हुने बताए।
“संविधान त्यसै लेखिँदैन नागरिकका इच्छा, आकांक्षा र तत्कालीन अवस्थाको राजनीतिक समाधानबाट नागरिकका हक–अधिकार सुनिश्चित गर्न संविधान जारी हुन्छ संविधान देशको मूल कानुन हो यसैका आधारमा राज्यका सम्पूर्ण संयन्त्र सञ्चालन हुन्छन्,” उनले भने।
नेपाल सरकारको निर्णयअनुसार संविधान दिवसलाई देशभरका जिल्ला तथा स्थानीय तहमा र काठमाडौंमा मूल समारोह समितिमार्फत भव्यताका साथ मनाइएको उनले बताए। संविधान दिवसले संविधान निर्माणका क्रममा भएका संघर्ष, योगदान र बलिदानलाई स्मरण गर्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो। प्रजिअ अधिकारीले संविधान प्राप्तिका लागि आफ्नो जीवन बलिदान गर्ने सहिद तथा जनआन्दोलन, मधेस आन्दोलनलगायत विभिन्न कालखण्डमा शाहदत प्राप्त गर्ने वीर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे।
नेपालमा गणतन्त्र र लोकतन्त्र स्थापना गर्न विभिन्न कालखण्डमा सहिद तथा नेपाली नागरिकले ठूलो बलिदान दिएको उल्लेख गर्दै उनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा गर्न नेपालको संविधान २०७२ जारी भएको बताए। संविधान जारी भएको झण्डै ११ वर्ष पूरा भएको उनले बताए । कार्यक्रममार्फत उनले नेपालमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को शुभकामना व्यक्त गरे।
“दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ भव्यताका साथ मनाऔँ” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्रकुमार साहले ल्यापटपको बटन थिचेर गरेका थिए। सोहि कार्यक्रमलाई सम्बोधन गर्दै सभापति साहले संविधान दिवसका अवसरमा स्काउट तथा विद्यालयका विद्यार्थीलाई सहभागी गराई नगर परिक्रमा तथा विद्यालय सरसफाइ गर्ने कार्यक्रम तय गरिए पनि वर्षाका कारण सञ्चालन गर्न नसकिएको बताए। त्यसपछि जिल्ला प्रशासन कार्यालयको सभाहलमा कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको उनले जानकारी दिए। उनले संविधान दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा साँझ दीप प्रज्वलन गरी हर्षोल्लासका साथ दिवस मनाउन आग्रह गरे।
जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्रकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, श्री रिपुमर्दन गण ब्रह्मपुरीका प्रमुख सेनानी गिरिराज गौतम, राष्ट्रिय अनुसन्धान बाराका उप-निर्देशक सरोज निरौला, पूर्वाधार विकास कार्यालय बाराका प्रमुख ओम साह, प्रादेशिक अस्पताल कलैयाका डाक्टर राहुल मण्डललगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सुशीलप्रसाद यादवले गरेका थिए।

