बाराको सदरमुकाम कलैयास्थित रहेको भरत चौकमा नागरिकहरुले शुक्रबार साँझ दीप प्रज्वलन गरेका छन् ।
उनीहरुले स्व.रुपेश स्वर्णकारको वास्तविक हत्यारालाई समाती कार्वाही तथा निर्दोष जामिल र रेयाजलाई यथाशीघ्र रिहा गर्न भन्दै मैनबत्ती बाली विरोध स्वरुप दीप प्रज्वलन गरेका हुन् ।
प्रहरीले थालेको अनुसन्धानको विरोधमा मृतकका परिवारजनबाट असन्तुष्टि बाहिर आएपछि कलैयाबासीहरुले प्रहरी कदमको विरोध स्वरुप मैनबत्ती बाली विरोध गरेका हुन् ।
कार्तिक १३ गते जिल्ला प्रहरी कार्यालय बाराबाट दुई मिनेटको दुरीमा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल स्वर्णकारलाई गोली प्रहार गरी हत्या भएको थियो ।
स्व. स्वर्णकारको आत्माको शान्तिका लागि मौनबत्ती समेत उनीहरुले बालेका हुन्। मृतक स्वर्णकारको तस्वीरमा न्याय देउ लेखेको बैनर सहित मौन प्रदर्शन गरेका थिए ।
मैनबत्ती प्रज्वलन कार्यक्रममा परिवारजन,प्याब्सन र एन प्याब्सन बाराका सदस्यहरु,यूवा,विद्यार्थी,शिक्षक,कर्मचारी,नागरिक अगुवा,समाजसेवी,राजनीतिक दलका प्रतिनिधि,नेबि संघका केन्द्रिय सदस्य नेजामुदिन अन्सारी,नेपाल विद्यार्थी संघ बाराका अध्यक्ष प्रविन पटेल,पुर्व प्रदेश सभा सदस्य पारस प्रसाद साह,माओवादी केन्द्रका नेता मुकेश साह तथा अधिकारकर्मीहरु लगायतको सहभागिता रहेको सन्नी जैसवालले जानकारी दिए ।
घटनामा मुख्य अभियुक्त भनिएका व्यक्तिहरुलाई पक्राउ गर्नका लागि दवाव सृजना गर्न मैनबत्ती बाली प्रदर्शन गरिएको हो ।

