साना किसान सहकारी सिमराको नाफा १ करोड ५ लाख

रञ्जन यादव
26 पाठक संख्या

सिमरा । साना किसान कृषि सहकारी संस्था लिमिटेड सिमराले आर्थिक वर्ष २०८२/८३ मा १ करोड ५ लाख ७३ हजार ५ सय १९ रुपैयाँ नाफा कमाएको छ। संस्थाको १२ औँ वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक विवरणअनुसार सो अवधिमा सहकारीको कुल कारोबार ५३ करोड २१ लाख ४६ हजार ७ सय ४४ रुपैयाँ पुगेको छ।

साधारण सभामा अध्यक्ष कमला कुमारी रिमालले संस्थाको आर्थिक प्रगति, आगामी योजना तथा शेयर सदस्यलाई उपलब्ध गराइने लाभांशसम्बन्धी जानकारी प्रस्तुत गर्नुभएको थियो। संस्थाले प्राप्त गरेको नाफाबाट शेयर सदस्यलाई १२ प्रतिशत शेयर लाभांश र २ प्रतिशत संरक्षित पुँजी कोषबाट लाभ उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष रिमालले जानकारी दिनुभयो।

असार मसान्तसम्म सहकारीमा १ हजार ५ सय ३५ जना शेयर सदस्य आबद्ध छन्। संस्थाअन्तर्गत २ सय ७३ वटा अन्तरसमूह र ५ सय ७ जना ऋणी सदस्य रहेको जनाइएको छ।

संस्थाका सहजकर्ता कलोत्तम पोख्रेलका अनुसार सहकारीको शेयर पुँजी १ करोड ५३ लाख ९७ हजार ७ सय रुपैयाँ पुगेको छ। यसैगरी बचत संकलन ५ करोड २५ लाख ४ सय ८३ रुपैयाँ र ऋण लगानी २० करोड ९६ हजार १ सय ३१ रुपैयाँ रहेको छ। आर्थिक वर्षको अन्त्यसम्म संस्थाको सम्पत्ति तथा दायित्व ५ करोड ८६ लाख ६७ हजार ४ सय ३७ रुपैयाँ रहेको पोख्रेलले जानकारी दिनुभयो।

Leave a review