कोल्हवी । बिनिता चौधरी / बाराको कोल्हबीस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा नयाँ प्रमुखका रूपमा सरुवा भई आउनुभएका सशस्त्र प्रहरी नायब निरीक्षक (सई) रामअयोध्या महतोलाई स्वागत तथा कार्यकाल पूरा गरी सरुवा हुनुभएका अशिव चौधरीलाई बिदाइ गरिएको छ। आइतबार आयोजित एक कार्यक्रमबीच महतोलाई स्वागत तथा चौधरीलाई बिदाइ गरिएको हो।
कार्यक्रममा सहभागीहरूले चौधरीको कार्यकालमा कोल्हबी क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरे। स्थानीय तह, नागरिक र सुरक्षा निकायबीचको सहकार्य तथा समन्वयबाट मात्रै प्रभावकारी शान्ति सुरक्षा कायम गर्न सकिनेमा उनीहरूले जोड दिए।
नयाँ प्रमुख महतोलाई स्वागत गर्दै स्थानीय तह, सुरक्षा निकाय, उद्योगी–व्यवसायी, सञ्चारकर्मी तथा नागरिक समाजसँग सहकार्य र समन्वय गर्दै अघि बढ्ने अपेक्षा व्यक्त गरिएको थियो।
कार्यक्रममा महतोलाई सफल कार्यकालको शुभकामना दिँदै चौधरीलाई आगामी जिम्मेवारीका लागि शुभकामना तथा बिदाइ गरिएको थियो। आपसी सद्भाव, सहकार्य र सुरक्षा निकाय तथा स्थानीय समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
उक्त विदाई कार्यक्रममा कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मी कुमारी चौधरी, पूर्वनगर प्रमुख भरतबहादुर भण्डारी, नगर उद्योग वाणिज्य संघ कोल्हबीका अध्यक्ष रामप्रसाद प्रसाई नागरिक उन्मुक्ति पार्टी नेपालका केन्द्रीय सदस्य भुवनप्रसाद चौधरी, नेपाल भलिबल संघ बारा तथा जनशक्ति क्लब कोल्हबीका अध्यक्ष खुसी चौधरी, इलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख बुद्धिमान चोङ्वाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बारा शाखाका अध्यक्ष धीरेन्द्र पनुहर, समाजसेवी पुरनदेव चौधरी, रामकुमार उप्रेती, दीपेन्द्र सुवेदी र शंकरप्रसाद मैनालीलगायत उपस्तिथि रहेको थियो ।

