रौतहट: ओम प्रकाश यादव/ रौतहटको माधवनारायण नगरपालिकामा आइतबारदेखि नयाँ एम्बुलेन्स सञ्चालनमा आएको छ।
यस अघि पूर्व नगर प्रमुख विरेन्द्र प्रसाद यादवको कार्यकालमा समेत एम्बुलेन्स सञ्चालनमा रहेको थियो। नगरपालिकाबाट खरिद गरिएको सो एम्बुलेन्स दुर्घटनामा परी बिग्रेपछि नगर प्रमुख बैजनाथ प्रसाद यादवले नगरपालिकाको लाखौंको लागतमा सुविधा सम्पन्न नयाँ एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएका छन्।
नगर प्रमुख यादवले आईतवार बिहान माधव नारायण नगरपालिका –६ माधोपुर गढीमाई मन्दिरको प्राङ्गणमा एम्बुलेन्सको पूजा गर्दै उद्घाटन समेत गरेका थिए।
उक्त एम्बुलेन्स आइतवारदेखि नै सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ। आम नगरवासीको स्वास्थ्य र ज्यानलाई दृष्टिगत गरी उनीहरूको सहजताका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएको नगर प्रमुख यादवले बताएका छन्।
नगरपालिका क्षेत्रभित्रका असहाय, ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई उपचार गराउन बाहिर लैजान सहज होस भन्ने उद्देश्यले एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो। एम्बुलेन्सकै अभावमा समयमा उपचार गराउन नपाई अकालमै कसैको मृत्यु नहोस् भन्ने उद्देश्यले आफूले नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको नगर प्रमुख यादवले बताए।
न्यून शुल्कमा उक्त एम्बुलेन्सले नगर र नगर भन्दा बाहिरका व्यक्तिलाई समेत सेवा उपलब्ध गराउने उनले बताए।
नेपालको संविधानले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच हुनेछ र औषधि उपचार पाउने छन् भन्ने व्यवस्था भए अनुरुप एम्बुलेन्स सञ्चालनमा ल्याइएको उनले जनाए।
माधव नारायणका नागरिकले पनि बिरामी हुँदाको समयमा एम्बुलेन्सको सुविधा उपयोग गर्न पाउनुपर्छ र त्यसका लागि नगरपालिकाले ९ वटै वडामा वर्ष दिनभरि नै सञ्चालन हुनसक्ने गरी सडक निर्माणका कामहरु भइरहेको नगर प्रमुख यादवले जनाए ।
नगरपालिकाको एम्बुलेन्स नहुँदा माधव नारायणबासी निकै समस्या भोग्दै आएका थिए। नगरपालिकाले पुनः आफ्नै एम्बुलेन्स सञ्चालन गरेपछि नगरका जनता निकै हर्षित भएका छन्।

