हुलास फिनसर्भको सीईओमा कलैयाका समीर ठाकुर नियुक्त

साझेदारी डेलि
61 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका–६ निवासी समीर ठाकुर हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका छन्। कम्पनीले आफ्नो संस्थागत नेतृत्वलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले ठाकुरलाई पहिलो सीईओका रूपमा नियुक्त गरेको हो।

गोल्छा समूहअन्तर्गत सञ्चालित तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त हुलास फिनसर्भले सवारीसाधन तथा विभिन्न विद्युतीय उपकरण खरिदका लागि ग्राहकलाई किस्ताबन्दीमा वित्तीय सुविधा उपलब्ध गराउँदै आएको छ।

कम्पनीले दुई, तीन र चारपाङ्ग्रे सवारीसाधनका साथै ल्यापटप, मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामग्री खरिदमा वित्तीय सुविधा प्रदान गर्दै आएको छ।

वित्तीय सेवा क्षेत्रको विस्तारसँगै कम्पनीले बजारमा नयाँ वित्तीय योजना ल्याउने तथा विभिन्न साझेदार संस्थासँग सहकार्य गरी सेवाको पहुँच थप सहज बनाउने योजना अघि सारेको छ।

कम्पनीको इतिहासमा पहिलो पटक सीईओ पद सिर्जना गरी ठाकुरलाई जिम्मेवारी दिइएको हो। उनको नियुक्तिसँगै कम्पनीको दैनिक कार्यसञ्चालन, रणनीतिक योजना निर्माण तथा समग्र व्यवस्थापकीय कार्यक्षमता थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

बदलिँदो हायर पर्चेज बजारमा नयाँ सम्भावना पहिचान गर्दै व्यवसायलाई दिगो र सुदृढ बनाउने यात्रामा ठाकुरको अनुभव र नेतृत्वले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

Leave a review