बारा । सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जीतपुरसिमरा नगर अस्पतालमा जन्मिने नवजात शिशुका लागि १०० थान बेबी ब्ल्याङ्केट प्रदान गरेको छ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत मंगलबार उक्त ब्ल्याङ्केट अस्पताललाई हस्तान्तरण गरेको हो।
संस्थाकी अध्यक्ष मुना खरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले अस्पताललाई ब्ल्याङ्केट हस्तान्तरण गर्नुभएको थियो।
संस्थाले उपलब्ध गराएका ब्ल्याङ्केट नगर अस्पतालमा जन्मिने नवजात शिशुलाई वितरण गरिने जनाएको छ। नवजात शिशुलाई चिसोबाट जोगाउन आवश्यक न्यानो सामग्री उपलब्ध गराउनुका साथै महिला सशक्तीकरण र लैङ्गिक हिंसाविरुद्धको अभियानमा सामाजिक सहभागिता बढाउने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा जनप्रतिनिधि उद्धवप्रसाद गौतम, विशाल घिमिरे, चिकित्सक डा. लोकेन्द्र साह, मेडिकल अधिकृत सुरज साह, डा. अंकिता जैसवाल, अस्पतालका जनस्वास्थ्य अधिकृत अशोक जैसवाल तथा नर्सिङ निरीक्षक सुजिता मिश्रलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अस्पतालका प्रतिनिधिहरूले संस्थाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सामाजिक कार्यले अस्पतालमा सेवा लिन आउने आमा तथा नवजात शिशुलाई प्रत्यक्ष लाभ पुग्ने बताएका थिए।
संस्थाकी कोषाध्यक्ष सनम पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सचिव गीता शर्माले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका पदाधिकारी तथा अस्पतालका नर्सिङ कर्मचारीहरूको सहभागिता रहेको थियो



