पत्रकार महासंघको घोषित आन्दोलनका कार्यक्रम कार्यान्वयन नगरेको भन्दै बाराका अध्यक्ष सुवेदीलाई ७ दिने स्पष्टीकरण माग

साझेदारी डेलि
329 पाठक संख्या

बारा । नेपाल पत्रकार महासंघको घोषित आन्दोलनका कार्यक्रम कार्यान्वयन नगरेको तथा जिल्ला कार्यसमितिको बैठक र संस्थागत गतिविधिमा आवश्यक समन्वय नगरेको भन्दै नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश बहादुर सुवेदी क्षेत्रीसँग सात दिनभित्र स्पष्टीकरण माग गरिएको छ।

महासंघ बारा शाखाका उपाध्यक्ष पन्नालाल दासले शुक्रबार अध्यक्ष सुवेदीलाई पत्र पठाउँदै सात दिनभित्र सन्तोषजनक लिखित स्पष्टीकरण पेश गर्न अनुरोध गरेका हुन्।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा २०८३ मंसिर १ गते जारी सूचनामार्फत विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरी जिल्ला शाखाहरूलाई जानकारी गराइएको थियो। सोही कार्यक्रमअनुसार मंसिर ७ गते सञ्चारसम्बद्ध संघ–संस्थाहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहे पनि जिल्ला कार्यसमितिको बैठक प्रभावकारी रूपमा आयोजना नगरेको र सरोकारवालासँग आवश्यक छलफल तथा समन्वय नगरेको भन्दै उपाध्यक्ष दासले प्रश्न उठाएका छन्।

त्यसैगरी, महासंघको नियमित बैठक तथा छलफल कार्यालयमा नगरी होटल, घर, चोकचौराहा तथा अन्य अनौपचारिक स्थानमा गर्ने प्रवृत्ति बढेको भन्दै त्यसको कारणसमेत स्पष्ट पार्न पत्रमार्फत भनिएको छ।

पत्रमा महासंघको विधान, नीति, नियम र संस्थागत मर्यादाअनुसार काम गर्नुपर्ने जिम्मेवारी हुँदाहुँदै घोषित कार्यक्रम कार्यान्वयनमा उदासीनता देखाएको, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूसँग आवश्यक समन्वय नगरी एकलौटी रूपमा कार्यसम्पादन गरेको र संस्थागत गतिविधिलाई प्रभावहीन बनाएको विषयमा जवाफ माग गरिएको छ।

केन्द्रीय समितिबाट जारी परिपत्र तथा घोषित आन्दोलनका कार्यक्रमलाई अवहेलना गर्नु, जिल्ला कार्यसमितिको बैठक तथा आवश्यक छलफल नगर्नु र विधानअनुसार कार्यसम्पादनमा समन्वय नगर्नुले अध्यक्षको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको पत्रमा उल्लेख छ। साथै, अध्यक्षको जिम्मेवारीमा रहेर विधानअनुसार कार्यसम्पादन गर्न असमर्थ वा असक्षम भए त्यसको कारणसमेत स्पष्ट पार्न भनिएको छ।

उपाध्यक्ष दासले पत्र प्राप्त भएको मितिले सात दिनभित्र उल्लिखित विषयमा आफ्नो धारणा स्पष्ट पार्दै सन्तोषजनक लिखित स्पष्टीकरण पेश गर्न अनुरोध गरेका छन्। उक्त स्पष्टीकरण पत्रको बोधार्थ नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, काठमाडौं र मधेश प्रदेश कार्यसमिति, जनकपुरधामलाई समेत पठाइएको छ।

यता, नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश बहादुर सुवेदी क्षेत्रीले पनि जिल्ला कार्यसमितिका सदस्यहरूसँग स्पष्टीकरण माग गरेका छन्। उनले केन्द्रीय समितिको आह्वानमा गत बुधबार जिल्लामा आयोजित ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ कार्यक्रममा अनुपस्थित रहेको तथा यसअघि जिल्ला प्रशासन कार्यालयको मूलगेटमा आयोजित धर्ना कार्यक्रममा समेत सहभागी नभएको भन्दै स्पष्टीकरण माग गरेका हुन् ।

अध्यक्ष सुवेदीले महासंघले घोषणा गरेका केन्द्रीय आन्दोलनका कार्यक्रमहरूमा सहभागी नभई अवहेलना गर्नुको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न सदस्यहरूलाई आग्रह गरेका छन्। उक्त पत्रको बोधार्थ महासंघको केन्द्रीय समिति र मधेश प्रदेश समितिलाईसमेत पठाइएको छ।

Leave a review