बारा । बारामा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका श्री भोला राष्ट्रिय माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जय किशुन प्रसाद यादव २ हजार ५०० रुपैयाँ धरौटीमा रिहा भएका छन्।
बाराको महागढीमाई नगरपालिका–३ निवासी ३८ वर्षीय यादवलाई प्रहरीले गत मंसिर ८ गते मंगलबार पक्राउ गरेको थियो। गन्जभवानीपुरमा कौडा खेलाउने क्रममा प्रहरी चौकी गन्जभवानीपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक बहादुर यादवसँग विवाद गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो।
पक्राउ परेपछि यादवविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय बाराबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार बिहीबार जिल्ला प्रशासन कार्यालय बाराले यादवलाई २ हजार ५०० रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो। धरौटी बुझाएपछि उनी हिरासतबाट मुक्त भएका छन्।



