वीरगञ्जका तीनजनाले जिल्ला प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता आइतबार प्राप्त गरेका छन् ।
वीरगञ्ज महानगरपालिका घर भई हाल अष्ट्रेलिया बस्ने तीन जनाले नागरिकताको प्रमाण पत्र प्राप्त गरेका हुन् ।
सरकारले गैर आवासीय नेपालीलाई नागकिरता प्रदान गर्ने जनाएपछि पर्साबाट पहिलो पटक तीनजनाले गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् ।
गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्नेहरुमा पर्सा बीरगंज महानगरपालिका वडा नं २३ घर भई हाल अष्ट्रेलिया बस्ने किरण प्रधान रहेका छन्। यस्तै वीरगञ्ज महानगरपालिका वडा नं ११ घर भई हाल अष्ट्रेलेया बस्ने शमीम अनवरले समेत नेपाली नागरिकता प्राप्त गरेका हुन् ।
वीरगञ्ज महानगरपालिका वडा नं ९ घर भई हाल अमेरिका बस्ने सुमन कानू गरी तीन जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले तीन जनालाई नागरिकता दिइएको जानकारी दिए ।
तीन वटा निबेदन गैर आवासीय नेपाली नागरिकताको लागि परेकोमा तीनैजनालाई नागरिकता प्रदान गरिएको हो ।त्यो एदकमै सहज तरिकाले प्रदान गरिएको पनि उनले बताए ।तीनैजनालाई पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गैर आवासीय नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरेका छन् ।
जेठ १७ गते नेपाल राजपत्रमा प्रकाशित भएको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन,२०७९ र नेपाल नागरिकता नियमावली (तेस्रो संशोधन),२०८० लाई कार्यान्वयन गर्ने सन्दर्भमा सो नागरिकता दिइएको हो ।
गैर आवासीय नेपाली नागरिकता प्रमाणपत्रको लागि अवलम्बन गर्नुपर्ने प्रक्रिया र आवश्यक कागजातहरुको बारेमा कार्यालयले जानकारी दिएको थियो । गत कार्तिक १४ गते नै जिल्ला प्रशासन कार्यालय पर्साले यस सन्दर्भमा एक सूचना जारी गरेको थियो ।
गैर आवासीय नेपाली नागरिकता लिनका लागि चाहिने कागजातहरुको बारेमा जानकारी गराएको थियो । गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्नको लागि अनुसूची ८ ग,बमोजिम सम्बन्धित बडाको सिफारिस सहितको निवेदन पेश गर्नुपर्ने तथा बिभिन्न प्रक्रिया पु¥याउनु पर्ने हुन्छ ।


