जीतपुरसिमराले विद्यार्थी संख्या न्यून भएका बिद्यालय समायोजन गर्दै

रञ्जन यादव
571 पाठक संख्या

विद्यार्थी संख्या न्यून भएर सामुदायिक विद्यालयका कक्षाकोठा रिक्त हुन थालेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले बिद्यालय समायोजन गर्न लागेको छ ।

उपमहानगरपालिकाले नजिकैको बिद्यालयसँग समायोजन गर्ने योजना अघि सरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

विद्यालय समायोजन तथा तह मिलान गर्दा शिक्षक नपुगेका विद्यालयमा व्यवस्थापन गर्न सहज हुने र शैक्षिक गुणस्तरलाई बढाउन सकिने जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले जानकारी दिए । समायोजनपछि शैक्षिक सुधार हुँदै जाने बिश्वास ब्यक्त गरे ।

उपमहानगरपालिकाले तह मिलान तथा बिद्यालय समायोजन कार्यबिधि २०७९ नगरसभाबाट पारित गरेर कार्यान्वयन गरिरहेको हो । भौतिकरुपमा विद्यालय निर्माण सम्पन्न भए पनि विद्यार्थी नहुँदा पठनपाठनमा समस्या हुने गरेको छ । नगरपालिकाले विद्यालय समायोजनसँगै तह मिलानसमेत गरिरहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकामा हालसम्म ६१ वटा सामुदायिक बिद्यालय सञ्चालनमा रहेका छन् । सोमध्ये १६ वटा माध्यमिक र ४५ वटा अधारभुत तहका रहेका छन् । दिनप्रतिदिन विद्यार्थी घटेपछि नगरपालिकाले तह मिलान तथा समायोजन गर्न लागेको हो ।

तह मिलान तथा विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ मा ४५ जना, १–५ मा २५, ६–८ मा ४५, ९–१० मा ४० र ९–१२ मा ८० जना विद्यार्थी हुनुपर्ने मापदण्ड रहेको जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा अधिकृत हरिश भट्टले जानकारी दिए ।

उपमहानगरपालिका अन्तर्गत सञ्चालित बिद्यालयहरुलाई मापदण्ड भन्दा कम बिद्यार्थी सङ्ख्या भएमा नजिकको सामुदायिक बिद्यालयमा समायोजन तथा कक्षा हुँदा सम्बन्धित बिद्यालयहरुलाई आवश्यक कागजात सहित माघ २५ गते भित्र कार्यालयमा पेश गर्न अनुरोध गरेको छ ।

अघिल्लो वर्षमात्रै नगरपालिकाले ७ वटा सम्म विद्यालय समायोजन गर्ने लक्ष्य राखेपनि राजनितीक दबाबका कारण एउटा बिद्यालय मात्र समायोजन गर्न सकेको थियो ।

Leave a review