ओम प्रकाश यादव/
रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुर स्वास्थ्य चौकीमा प्रसुति गृह अर्थात बर्थिङ सेन्टर सञ्चालनको तयारी पुरा भएको छ ।
प्रदेश र माधवनारायण नगरपालिका कार्यालयको आर्थिक सहयोगमा माधोपुर स्वास्थ्य चौकीमा नवनिर्मित भवनमा साउन महिनामा बर्थिङ सेन्टर सञ्चालन हुने बताइएको छ ।
पहिलादेखी नै जन स्वास्थ्य प्रयोगशाला र ल्यावको सेवा उपलब्ध उक्त स्वास्थ्य चौकीमा रहेको छ ।
माधवनारायण नगरपालिकाले बर्थिङ सेन्टरको सुविधा यस स्वास्थ्य चौकीमा थप गर्न लागेको छ । माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले उक्त स्वास्थ्य चौकीमा नवनिर्मित भवन र स्वास्थ्य उपकरणहरुको अनुगमन निरीक्षण गरेका छन् ।
अस्पतालको अनुगमन निरीक्षण गर्दै नगर प्रमुख यादवले यस साउन महिना भित्रमा उक्त अस्पतालमा यो सेवा सञ्चालन हुने भएको छ । अत्याधुनिक एवं सुविधा सम्पन्न बर्थिङ सेन्टर उद्घाटन गरी सेवा सुचारु गर्ने उनले बताएका हुन् ।
बर्थिङ सेन्टर नहुँदा चन्द्रपुर,विरगंज लगाएतका ठाउँमा मोटो रकम तिरेर गर्भवती महिलाहरुले प्रसुति गराउनु बाध्य थिए । यो अवस्थालाई अन्त्य गरी आफनै गाउँ ठाउँमा सहज तरिकाले सुत्केरीको सेवा उपलब्ध गराउने उद्देश्यले माधोपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको सेवा थप गर्न लागेको मेयर यादवले बताए ।
स्वास्थ्यको पहुँचलाई ग्रामीण भेगसम्म विस्तार गर्ने र आम नागरिकलाई स्थानीय स्तरमै प्रसुति गृहको सेवा उपलब्ध गराइ स्थानीय सरकारको अनुभूति दिलाउने उद्देश्यले योसेवा थप गर्न लागिएको उनले बताए ।
‘बर्थिङ सेन्टरका लागि आवश्यक पर्ने पूर्वाधार, उपकरणहरुको व्यवस्था गरिसकेका छौँ,’ उनले भने ।अत्याधुनिक उपकरणहरुसहित स्वास्थ्यकर्मीलाई तालिम पनि दिसकेको जनाएको छ । प्रसुति गृह सञ्चालनका लागि आवश्यक पर्ने सबै स्वास्थ्य उपकरण खरिद देखी लिएर अन्य सबै तयारी पुरा भइसकेको उनले जनाए । अब उदघाटन गर्न मात्र बाँकी रहेको मेयर यादवले बताए ।
माधवनारायणमा एउटा खेसरहीयामा मात्र बर्थिङ सेन्टर सञ्चालन रहेको छ । नगरपालिकाले आफना दोश्रो बर्थिङ सेन्टरको रुपमा माधोपुरमा बर्थिङ सेन्टर सञ्चालन गर्न लागेको हो ।
माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवको अथक प्रयास र पहलकदमीमा माधोपुरमा उक्त बर्थिङ सेन्टर सञ्चालन हुन लागेको हो ।
माधोपुरमा अहिले बर्थिङ सेन्टर नहुँदा गर्भवतीलाई सुत्केरी गराउन बोकेर बाहिर लैजानुपर्ने अवस्था छ । यसरी बाहिरको अस्पतालमा सुत्केरी गराउन जाँदा एक जनाले महिलाले सुत्केरी गराए वापत ७० हजार देखी १ लाखसम्म रुपैयाँ अस्पताललाई तिर्न बाध्य छन ।
माधोपुरमा प्रसुति गृहको सुविधा भएपछि माधोपुर सहित खडकी रजवडा,गढो,फुलवरीया,लौकाहा लगाएत दर्जनौ गाउँका हजारौ व्यक्ति लाभान्वित हुने उनले बताए । यहाँका गर्भवति महिलालले सहज तरिकाले नजिकैमा प्रसुति गराउन पाइने र अन्य अस्पताललाई तिर्दै आएको लाखौं रकम बचत हुने विश्वास उनले व्यक्त गरेका छन् ।

