पछिल्लो समय पर्सा जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेहरुको संख्या बढ्दै गएको छ।
विगत तीन बर्ष यता आर्थिक बर्ष ०८०/८१ मा सवैभन्दा बढि त्याग गर्नेको संख्या बढेको हो । गत आर्थिक बर्षमा पर्सा जिल्लाबाट नागरिकता लिएका १९ जनाले नेपाली नागरिकता परित्याग गरेका छन ।
जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारी अनुसार बर्ष भरिमा उक्त मात्रामा नेपाली नागरिकहरुले नागरिकता परित्याग गरेका छन । अघिल्लो आर्थिक बर्ष २०७९/८० मा भने जम्मा ६ जनाले मात्रै पर्साबाट नेपाली नागरिकता परित्याग गरेका थिए ।
यस आँकडा अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा गत आ.ब.मा तीन गुणा भन्दा बढी मानिसहरुले पर्साबाट लिएको नेपाली नागरिकता परित्याग गरेका हुन । जबकि आव ०७८/७९ मा भने १२ जनाले पर्साबाट नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासनको तथ्याँकमा उल्लखे छ ।
बिदेशमा गएर काम गर्ने अर्थ उपार्जन गर्ने मानिसहरुले बढी जसो नागरिकता परित्याग गर्ने गरेको प्रशासनको भनाई छ । नराम्रा भन्दा पनि राम्रा मानिसहरुले नागरिकता परित्याग गर्छन, जिल्ला प्रशासन कार्यालयका एक अधिकृले भने । यस्तै पछिल्लो समय आएको राष्ट्रिय परिचय पत्रमा बायोमेट्रिक गर्ने सुबिधाले गर्दा दाहोरो नागरिकता लिनेहरु समातिने डरले पनि दोहोरो नागरिकता धारीहरुले आफैले नागरिकता परित्याग गर्ने गरेका छन ।
यता गत आ.व. २०८०/८१ मा पर्सा जिल्लाबाट १७ हजार ६२९ जनाले नयाँ नागरिकता लिएका छन । गत आ.ब.मा १३ हजार ३४२ जनाले नेपाली नागरिकताको प्रतिलिपी जिल्ला प्रशासन कार्यालय पर्साबाट लिएका छन ।
अघिल्लो आर्थिक बर्षमा भने १६ हजार २५८ जनाले नयाँ नागरिकता पर्साबाट पाएका थिए । भने १३ हजार ६१२ जनाले प्रतिलिपी नागरिकता प्राप्त गरेका प्रशासनले जनाएको छ ।

