सुजित मेमोरियल टी-२० को दोस्रो सेमिफाइनलमा कलैया वडा नं. ६ विजयी, आइतबार फाइनल खेल हुने

साझेदारी डेलि
323 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा जारी स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा कलैया उपमहानगरपालिका वडा नं. ६ विजयी भएको छ । शुक्रबार भएको खेलमा वडा नं. ६ ले वडा नं. ७ लाई २ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको वडा नं. ७ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको थियो । उसका लागि आशिष थापाले सर्वाधिक २२ रन, आदित्य थापाले १९ रन, रोहित साहले १५ रन र अभिषेक श्रीवास्तवले १३ रनको योगदान दिए ।

वडा नं. ६ का बलर आदित्य थापाले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने सेराज हवारीले २ विकेट हात पारे । ११२ रनको लक्ष्य पछ्याएको वडा नं. ६ ले १५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । उसका लागि महम्मद समिमले आक्रामक ब्याटिङ गर्दै १४ बलमा ४० रन बनाए ।

त्यस्तै किशन गुप्ताले अविजित २६ रन तथा महम्मद चन्दले १३ रनको योगदान दिए । वडा नं. ७ का बलर आदित्य थापाले ५ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

उत्कृष्ट प्रदर्शन गरेका कलैया वडा नं. ६ का महम्मद समिम म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई जिनियस डायन्स एकेडेमीका सञ्चालक अंकुश ब्याहुतले पुरस्कार वितरण गरेका हुन् ।

आयोजक समितिका अध्यक्ष रमेश ठाकुरका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल आइतबार दिउँसो १२:१५ बजेदेखि कलैया उपमहानगरपालिका वडा नं. १२ र वडा नं. ६ बीच हुने आयोजक समितिका अध्यक्ष ठाकुरले जानकारी दिए ।

Leave a review