बारामा हरिबोधिनी एकादशी (तुलसी विवाह) मनाईयो

साझेदारी डेलि
184 पाठक संख्या

कलैया । तुलसीको मठमा पूजाआजा र शालिग्रामसँग विवाह गराउँदै बारा जिल्लाका हिन्दु धर्मावलम्बीहरूले हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाएका छन् । कार्तिक शुक्ल एकादशीका अवसरमा जिल्लाका विभिन्न गाउँबस्तीमा धार्मिक विधिअनुसार तुलसी विवाह सम्पन्न गरिएको छ ।

बारा जिल्लाका घरघरमा तुलसीको मठ सजाएर बिहानैदेखि पूजाआजा गरिएको थियो । श्रद्धालुहरूले तुलसीमा जल अर्पण गर्दै भगवान् विष्णुको प्रतीक मानिने शालिग्रामसँग विवाह गराउने परम्परालाई निरन्तरता दिएका छन् । विशेषगरी घरपरिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै यो पर्व मनाउने चलन छ ।

धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीमा क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु चार महिनापछि कार्तिक शुक्ल एकादशीका दिन जागा हुने विश्वास गरिन्छ । विष्णुको जागरणसँगै चतुर्मास समाप्त हुने र विवाह, व्रतबन्ध, गृहप्रवेशलगायतका शुभकार्यका लागि साइत खुल्ने धार्मिक परम्परा रहेको छ ।

सनातन धर्ममा तुलसीलाई पवित्र वनस्पतिका रूपमा पूज्ने गरिन्छ । जन्मदेखि मृत्युसम्मका विभिन्न धार्मिक संस्कार तथा पूजाआजामा तुलसीको पात प्रयोग गर्ने परम्परा छ । धार्मिक आस्थासँगै आयुर्वेदिक महत्त्वसमेत जोडिएकाले हिन्दु परिवारमा तुलसीको मठ स्थापना गरी दैनिक पूजा गर्ने प्रचलन रहँदै आएको छ।

हरिशयनी एकादशीदेखि सुरु भएको चतुर्मासको समापनसँगै हरिबोधिनी एकादशीलाई धार्मिक दृष्टिले विशेष महत्त्वका साथ लिने गरिन्छ । अन्य एकादशीको तुलनामा बढी महत्त्वपूर्ण मानिएकाले यसलाई ठूली एकादशीसमेत भन्ने गरिएको छ ।

Leave a review