काठमाडौँ : विभन्न कारण देखाउदै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष पोख्रेलले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई सम्बोधन गरेर राजीनामा दिएका छन । उनले अब हुने निर्वाचनप्रति सर्वस्वीकार्यता हुन सक्ने अवस्था नरहेको र यसमा आफ्नो पनि कमजोरी रहेको स्विकार गर्दै राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन ।
उनले ‘बाह्य सरोकारवाला पक्षहरूले समेत सदस्यतासूची आफूलाई देखाएर मात्र अघिबढ्नु पर्ने अपेक्षा अझै पनि कायम राखिराख्दा मन खिन्न हुन गएको छ । र यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन’, भन्दै राजीनामा पत्रमा उल्लेख गरेका छन ।
अध्यक्ष पोख्रेलले अहिलेको सबै अवस्था आउनुमा आफ्नो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी लिने भन्दै ‘मेरो मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्था समेत सहज रूपमा काम गर्न सक्ने अवस्थामा छैन । तसर्थ विधानले प्रदान गरेको अध्यक्षको सम्पूर्ण (आर्थिक समेत) जिम्मेवारी बहन गर्ने गरी कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिँदै आजैका मितिदेखि लागुहुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको छु’, भन्दै राजीनामा बुझाएको छन ।
महासंघको सदस्यता विवाद लगाय अन्य विभिन्न कारण महासंघको यसअघि निर्धारि दुई वटा निर्वाचन सरेको थियो । महासंघले फेरी असोज ५ गतेका लागि अर्को मिति तय गरेको छ । अध्यक्ष पोख्रेलको राजीनमासंगै असोज ५ का लागि निर्धारित निर्वाचन पनि सर्ने संभावना बढेको छ ।

