रौतहट : ओम प्रकाश यादव/ आउँदो मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि रौतहटमा आइतबार उत्साहजनक रूपमा मनोनयन पत्र दर्ता भएको छ।
रौतहटको गढीमाई नगरपालिका –८,राजपुर नगरपालिका –६ र इशनाथ नगरपालिका –७ को वडा अध्यक्ष पदका लागि हुन् लागेको उपनिर्वाचन अन्तर्गत तीनवटै वडामा उम्मेदवारी दर्ता भएको हो।
उम्मेदवारी दर्ताको लागि दलका नेता,कार्यकर्ता र स्वतन्त्र उम्मेदवारहरु निकै तामझाम,रैली जुलुस तथा बाजागाजा सहित उनीहरुले आ– आफ्ना उम्मेदवारी दर्ता गराएका छन्।
बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट उम्मेदवारहरूले आफ्नो मनोनयनपत्र दर्ता गराएका छन्।
गढीमाई नगरपालिका –८ विरनगराको वडा अध्यक्ष पदका लागि दल र स्वतन्त्रबाट गरी कूल १६ जनाको उम्मेदवारी परेको छ। जसमध्ये दलको तर्फबाट सात जनाको उम्मेदवारी परेको छ। नौ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले बरियारपुरले जनाएको छ।
गढीमाई नगरपालिका –८ को वडा अध्यक्षका लागि नेपाली कांग्रेसबाट सुबोध कुमार यादवले मनोनयन पत्र दर्ता गराएका हुन्। नेकपा एमालेबाट जीउती देवी यादव,नेकपा एकीकृत समाजवादी पार्टीबाट बजरंगी प्रसाद यादव, जनता समाजवादी पार्टी नेपालबाट संदेश प्रसाद यादवको उम्मेदवारी परेको छ।
त्यस्तै जनमत पार्टीबाट सुरेन्द्र राउत कुर्मी,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबालक साह र राष्ट्रिय मातृभूमि पार्टीबाट साहेबलाल राउतले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी अनिल कुमार यादव,चन्द्रिका प्रसाद यादव,दिनेश राय यादव,नरेन्द्र ठाकुर,रामविधार्थ प्रसाद जयसवाल,राम विश्वास राय यादव,रामसिंह राय यादव र श्रीश्याम प्रसाद यादवले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै राजपुर नगरपालिका –६ का वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट समसे आलम र इशनाथ नगरपालिका –७ को वडा अध्यक्षमा शेख अब्दुल खलीकले आफ्ना उम्मेदवारी दर्ता गराएको नेपाली कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिएका छन्।


