कलैया :राजेश कुशवाहा / बाराको करैयामाई गाउँपालिकाले गाउँपालिका भित्रका सबै सहकारी संस्थालाई ऋण लिएर नतिर्नेको धितो लिलाम गर्न निर्देशन दिएको छ।
करैयामाई गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र महतोले मंगलबार एक पत्र जारी गरी सहकारी संस्थालाई यस्तो निर्देशन दिएका हुन्।
करैयामाई गाउँपालिकाको सहकारी ऐन,२०७५ को परिच्छेद १४ दफा ६० उपदफा १,२,३,४,५,६ र ७ मा ऋण असुली गर्ने सम्बन्धी ब्यवस्थाको उपदफा १,३,४ र ५ मा भएको ब्यवस्थाहरु दफा ८० को कालोसूचीको ब्यवस्था सम्बन्धी ब्यवस्थाको उप दफा १ र २ तथा दफा ८० रोका राख्न लेखी पठाउने सम्बन्धमा दफा १ र२ मा भएका ब्यवस्थाहरु अपनाउन समेत निर्देशन दिईएको छ।
सम्बन्धित सहकारी संस्थाले भाका नाघि सक्दा पनि साँवा,ब्याज,नतिर्ने ऋणी सदस्य संग उल्लेखित कानुन अनुसार ऋण असुल उपर गर्न गाउँपालिकाले पत्र मार्फत अनुरोध गरेको छ।
ऋणी सदस्यहरु बाट ऋण असुल उपर गर्दा सहकारी नियमावली २०७५ को परिच्छेद ८ नियम ३० को उप नियम १,२,३ र ४ बमोजिमको कार्यविधि अपनाई ऋण असुल गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।
ऋण असुल गर्दा सवा,ब्याज र हर्जानाको रकम अपुग भएमा सोही नियमावलीको नियम ३२ उपनियम १,२ र ३ बमोजिम गर्न समेत जानकारी गराईएको छ ।नियम ३० र ३२ अनुसार लिलामका क्रममा लिलाम सकार्ने व्यक्ति नभएमा नियम ३५ बमोजिम सहकारी संस्थाले नै सो जायजेथाको स्वामीत्व ग्रहण गर्न सक्ने छ।
नियम ३५ बमोजिम स्वामीत्व ग्रहण गरिएको जायजेथा सम्बन्धित ऋणीले तिर्नुपर्ने अघिल्लो दिन सम्मको सम्पूर्ण सावा,ब्याज र लिलामीका क्रममा लागेका रकम समेत ब्यहोरेर फिर्ता लिन चाहेमा नियम ३६ अनुसार सहकारी संस्थाले फिर्ता गर्नुपर्ने छ।
दिईएको कानुनी प्रावधानको बेवास्ता गरी समयमै ऋण नतिर्ने ऋणीहरुको विवरण यसै नियमावलीको नियम ३८ बमोजिम नाम नामेशी सहित कालोसूची प्रकाशित गर्न गाउँपालिकाले सबै सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।

