घरमै निको भएका कोरोना संक्रमित परिवार

साझेदारी दैनिक
साझेदारी दैनिक 384 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारा जीतपुरसिमरा उपमहानगरपालीकाकी २४ बर्षे सविना थापा अहिले कोरोना जितेर घर फर्किएकी छन् । उनी सहित उनका परिवार पनि कोरोना मुक्त भइसके । सविनालाई अहिले पनि लागीरहेको छ , ‘मैले कोरोना परिक्षण नै नगरेको भए हुने रहेछ ।’ अनि उनलाई कोरोना कहाँबाट कसरी सर्यो भन्नेपनि अझैसम्म पत्तो पाएकी छैनन् ।

उनी कोरोना पोजेटिभ देखिंदा अहिलेको जस्तो आँगनमै कोरोनाको डर थिएन । अस्थाई कोरोना अस्पतालमा स्वाब संकलनका लागी जाँदामात्रै पनि छरछिमेक नजिक पर्न डर मान्थे । उनको परिक्षण रिपोर्ट आउनुभन्दा पहिले नै गाउँमा हल्ला चलिसकेको थियो कि थापा परिवारमा कोरोना छ ।

अन्ततः सविनाको रिपोर्ट पोजेटिभ नै देखियो । र गाउँलेकै आँखा अगाडी उनका घरमा एम्बुलेन्स पुग्यो । जव उनले आफ्ना लागी एम्बुलेन्स आएको देखिन् तब उनको आधा मनोवल त्यहीँ खस्किसकेको थियो ।

रुँदै एम्बुलेन्समा चढेकी सबिना १ घण्टामा सिमराबाट कलैया आइसुलेसन पुगीन् । उनी कलैया पुगेपछी घरका परिवार सदस्यमा कोरोना जाँचको अत्यावस्यक देखियो । फोनमा लिन आउछौँ भनेको सिमरा कोरोना अस्पतालको डाक्टर परिवार त्यो दिन र भोलीपल्ट समेत लिन आएन । तबसम्म सबिनाकी आमा दुर्गा थापा सिकिस्त जस्तै भइसकेकी थिइन् । उनलाई बाँच्छु जस्तै लागेको थिएन ।

‘पहिले त ठिकै थिएं, तर छोरीलाई एम्बुलेन्समा लगेपछी मेरो आधा होस् नै गुमेको जस्तो भयो,’ उनी भन्छिन् , ‘कति गाह्रो भयो त्यो मलाई मात्र थाहा छ ।’

सात दिनपछी सविना परिवारको रिपोर्ट आयो । आमा दुर्गा, बुबा सहदेव, घरमा पाहुना आएका आफन्त दाई र बहिनीलाई पोेजेटिभ देखियो । तर सगैँ भएको आफ्ना भाई नेगेटिभ देखिए । बहिनीमा पोजेटिभ देखिएपनी संगै रहेका बहिनी ज्वाई नेगेटिभ देखिए ।

परिवारमा नै पोजेटिभ देखिएपछी उनीहरु घरमै क्वारेन्टिनमा बसे । छोराले छुट्टै बसेर खाना खुवाउने प्रवन्ध मिलाए । गाउँलेले खाद्यान्न जुटाईदिए । उनीहरु करिब २ हप्तामा कोरोना मुक्त भए । ‘घरमै बस्नुस्’ भनेका सिमरा कोरोना अस्पतालका डाक्टरहरुले स्वास्थ्य अवस्थाका बारे एकदिनपनि सोधेनन् । सविनाले भन्छिन् , ‘वडाका सदस्य जनप्रतिनिधि रामचन्द्र लामा दाई चैँ आइरहनुहुन्थ्यो ।’

सविनाका बुबा अहिलेपनी कोरोना भन्ने कुनै रोग हो भन्नेबारेमा विस्वास गर्नै सक्दैनन् । उनलाई शुरुदेखी अहिलेसम्म कुनैपनी लक्षण वा गाह्रो केही भएन । न छोरीहरु र छोरामा कुनै समस्या देखियो । कुनै खास औषधी सेवन पनी उनले गर्नुपरेन ।
सविनालाई पनि पछुतो छ कि शूरुमै पिसिआर परिक्षण नगरेको भए परिवारमा कुनै समस्या देखिने थिएन । छुट्टै आइसोलेसन बसेकी सबिनालाई पनी कुनै खास औषधी केही दिइएन । न कुनै डाक्टरहरुको सहानुभुती नै थियो । उनी कलैया आइसोलेसन बसुन्जेल कहिल्यै पनी डाक्टरहरु अस्पताल आएनन् । कस्तो छ भनेर सोधेनन् । बरु घरमै सुरक्षित बसेको भए चाँडै निको भइन्थ्यो होला जस्तो उनलाई अहिले लागेको छ ।

‘त्यहाँ पुगेपछी आधा रोग त यत्तीको थपिन्छ, मनोवल नै गिर्दौ रहेछ,’ उनी सुनाउँछिन् , ‘कोरोनालाई औषधीले होइन मनोवलले जितिन्छ ।’

उनलाई समुदायमा कोरोनाबारेको चेतनाको स्तर सुधार गर्नुपर्ने लागेको छ । अझैपनी मानिसहरु आफुदेखी टाढा भएर हिंडने गरेको उनको दुखेसो छ । कोरोना संक्रमण भइहालेपनी मनोवल उच्च राख्ने हो भने केही नहुने उनको अनुभव छ ।

समाचार शेयर गर्नुहोस
Leave a review