वीरगञ्ज : वीरगञ्ज महानगरपालिका वडा नं. ३१ वेल्वामा व्यक्तिले कब्जा गरेको २ विगाहा सार्वजनिक जग्गा वीरगञ्ज महानगरपालिकाले आफ्नो अधिनमा ल्याएको छ।
महानगरको अतिक्रमण नियन्त्रण समितिले अतिक्रमित जग्गा नाप जाँच गरी आइतबार आफ्नो अधिनमा ल्याएको हो।
उच्च अदालत वीरगंजमा परेको रिटमा महानगरको पक्षमा फैसला आएको थियो। व्यक्तिले कब्जा गरि दुरुपयोग गरेको सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउने बाटो महानगरलाई खुलेको हो।
सार्वजनिक जग्गा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न नहुने भन्दै स्थानीय हसमुदिन अंसारीले नैमुद्दिन अंसारी र बसरुद्दिन अंसारी विरुद्ध जाहेरी दिएका थिए।
अदालतका न्यायाधीशद्वय मोहन राज भट्टराई र हरि प्रसाद पौडेलको संयुक्त इजलासले सार्वजनिक जग्गा कसैको कब्जामा हुन नहुने भन्दै सार्बजनिक प्रयोजनमा ल्याउन आदेश दिएका थिए।
सोही बमोजिम महानगरपालिकाले आइतबार सर्वेक्षक सहितको टोली लगेर सार्बजनिक जग्गा छुट्याउँदै व्यक्तिको कब्जाबाट मुक्त गराएको हो।
महानगर प्रमुख राजेशमान सिंहका सचिवालय सल्लाहकार हरि पोखरेलको नेतृत्वमा गएको टोलीले नापनक्सा गरि किला खुट्टा हलाएर ब्यक्तिको कब्जाबाट जग्गा मुक्त गराएको वडा नं. ३१ का वडाध्यक्ष जितेन्द्रप्रसाद यादबले साझेदारी दैनिकलाई जानकारी दिए।

