कलैयाको पुनःस्थापना केन्द्रमा मण्डल हत्या प्रकरणमा एक जना धरौटीमा रिहा, ६ जना पुर्पक्षका लागि कारागार चलान

साझेदारी दैनिक
419 पाठक संख्या

कलैया : बाराको कलैयामा रहेको नवजन्म पुनःस्थापना केन्द्र (सुधार) मा कुटपिटबाट मृत्यु भएका धीरेन्द्र भन्ने प्रदीप्रसाद मण्डलको मृत्यु प्रकरणमा पक्राउ परेकाहरु मध्ये एक जना धरौटीमा रिहा भएका छन भने अन्य ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

बारा जिल्ला अदालत बाराको १ नम्बर इजलासका न्यायाधीश कोमलप्रसाद आचार्यले मंगलबार मण्डलको मृत्यु प्रकरणमा पक्राउ परेका ७ जनामध्ये सञ्चालकका दाई २९ वर्षीय तमन्ना मंसुर २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेका छन भने अन्य ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको छन ।

बुधबार भएको बहसमा पुनःस्थापना केन्द्रका सञ्चालकका दाई तमन्ना मंसुरमाथि प्रमाण लुकाएको छुट्टै कसुरअन्तर्गत ३ वर्षसम्म कैद सजायको माग दाबी भएकाले धरौटीमा रिहा भएको बारा जिल्ला अदालतका स्रेस्तेदार लालबहादुर कार्कीले जानकारी दिएका हुन ।

सैगरी अदालतले बुधबारकै बहसबाट सोही घटनामा पक्राउ परेका कलैया उपमहानगरपालिका–१ का २४ वर्षीय अरूण सर्राफ,१९ वर्षीय सागर गुप्ता,वडा २ का २१ वर्षीय परमेश्वर साह,३ का १९ वर्षीय सरफराज मंसुरी,वडा ४ का २२ वर्षीय निरज सर्राफ र वडा नं. ६ का २० वर्षीय महम्मद आँसु मियाँलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको जनाईएको छ ।

घटनाको मुख्य आरोपीहरु सुधार केन्द्रका सञ्चालक साहेबबाबु मंसुर र उनका भाई साहिल अली भने हालसम्म फरार छन् । प्रहरीले उनीहरुको खोजी कार्य जारी गरेको जनाएको छ ।

उक्त सुधार केन्द्रमा भर्ना भएको दुई साता नबित्दै कलैया–९ का घर भएका ३७ वर्षीय मण्डलले शारीरिक सजाय स्वीकार नगर्दा केन्द्रका परामर्शदातासहितले कुटपिट गर्दा उनको मृत्यु भएको थियो।

यता मृतकका वुवाका अनुसार छोराको सामुहिक योजना बनाई हत्या गरिएको बताएका छन् । मुद्दालाई हलुका बनाई प्रहरीले अदालतमा पठाएको र हत्यारा धरौटीमा छुटेप्रति पिडित परिवारले दुख व्यक्त गरेका छन । साथै परिवारजनले सिआइवीबाट अनुसन्धान गर्न समेत माग गरेका छन् ।

Leave a review