वीरगञ्ज : पर्सा जिल्लालाई शनिबार एक कार्यक्रमवीच पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ।
वीरगञ्जस्थित क्लासिक होटलमा “पूर्ण खोप,सुनिश्चित भविष्य” भन्ने मूल नारासहित जिल्ला स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको “पूर्ण खोप सुनिश्चितता दिगोपन घोषणासभा कार्यक्रम” मा पर्सा जिल्लालाई ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन प्रसाद सोनारको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधन सिंह प्रमुख रहेका थिए ।
प्रमुख अतिथी रहेका स्वास्थ्य मन्त्री सिंहले खोपले सुरक्षित भविष्य निर्माणमा महत्वपूर्ण योगदान पु-याउने कुरामा जोड दिनुभयो। उहाले पूर्ण खोप सुनिश्चितता अभियानलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा लिएर काम गरको बताउनुभयो । स्वास्थ्यकर्मी,स्थानीय तह तथा नागरिकहरूलाई समेत मन्त्री सिंहले धन्यवाद दिनुभयो।
यस घोषणासभाले पर्सा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित जिल्लाका रूपमा स्थापित गर्दै स्वास्थ्य क्षेत्रको समृद्धि र दिगोपनतर्फ थप प्रेरणा प्रदान गरेको आयोजक स्वास्थय कार्यालय पर्साले जनाएको छ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रतिनिधिहरूले खोप अभियानमा देखिएका चुनौतीहरू,हासिल गरिएका सफलताहरू तथा आगामी रणनीतिहरूबारे विस्तृत जानकारी प्रस्तुत गरे। साथै उत्कृष्ट प्रदर्शन गर्ने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूलाई सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
उक्त घोषणा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्याल,नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमन लाल दास,पोखरिया नगरपालिकाका प्रमुख प्रदुमन चौरसिया,स्वास्थ्य प्रबन्धक विपिन ओझा लगायतको उपस्थिति रहेको जनाईएको छ।


