मेयरले आह्वान गरेको नगरसभामा अदालतद्वारा रोक

साझेदारी दैनिक
391 पाठक संख्या

रौतहट : रौतहटको वृन्दावन नगरपालिकाको नगरसभा स्थगित गर्न उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश दिएको छ।

आउँदो यही असार १० गते गर्न भनिएको वृन्दावन नगरपालिकाको नवौं बजेट अधिवेशन तत्कालको लागि यथास्थितिमा राख्न अस्थायी इजलास वीरगञ्जले अन्तरिम आदेश जारी गरेको हो।

नगर सभा स्थगित गर्न माग गर्दै वृन्दावन नगरपालिकाकी उपमेयर संगीतादेवी रामले अदालतमा उजूरी दिएकी थिइन्। अदालतको आदेश आएसँगै वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीले असार १० गरेका लागि आह्वान गरेको नगर अधिवेशन स्थगित भएको छ।

उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश हरिप्रसाद जोशीको इजलासले यस्तो आदेश दिएको हो। नगर उप–प्रमुख रामले नगरसभा तत्काल स्थगित गर्न अदालतमा उत्प्रेषणयुक्त परमादेशको माग गरेकी थिइन्। वृन्दावन नगरपालिकाको कार्यालय रौतहटलाई विपक्षी बनाउँदै पालिका कार्यालयको नाममा नगरसभा नगर्न अदालतले अन्तरिम आदेश दिएको हो।

नगरसभाको सन्दर्भमा दुवै पक्षको कुरा सुनी निर्णयमा पुग्न उचित हुने देखिएको भनिएको छ। यो मुद्दाको पेसी अदालतले यही आउँदो असार १३ गरेका लागि तोकेको छ। नगरसभाको विषयमा छलफल गर्न अदालतले असार १३ गते नगर उप–प्रमुख राम र विपक्षी दुवैलाई अदालतमा बोलाएको छ।

असार १३ गते छलफल भई कुनै निष्कर्ष न निस्केसम्मका लागि नगरपालिका द्वारा असार १० गते बोलाइएको नगरसभा नगर्नु नगराउनु भनी अन्तरिम आदेश दिएको हो। असार १३ गतेसम्मका लागि नगर अधिवेशन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै अब वृन्दावन नगरपालिकाले असार १३ गतेसम्म नगर अधिवेशन गर्न नपाउने भएको छ।

नगर प्रमुख विनोद प्रसाद कुर्मीले आफूसँग कुनै राय सल्लाह नै नगरी एकलौटी ढंगले नगरसभा गर्न लागेपछि आफूले अदालत गएर नगरसभा स्थगित गर्न मुद्दा हालेको संगीता देवी रामले बताएकी छन्।

Leave a review

This will close in 0 seconds