लागूऔषध विरुद्ध युवाहरुको मोटरसाइकल र्‍याली सिमरामा

रञ्जन यादव
406 पाठक संख्या

सिमरा : लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले काठमाडौं र हेटौंडाबाट सुरु भएको मोटरसाइकल ‍र्‍याली मंगलबार जीतपुरसिमरामा पुगेको छ।

झण्डै ४० भन्दा बढी मोटरसाइकलमा सहभागी युवाहरु मधेश प्रदेशका जिल्लाहरूमा जनचेतनामुलक सन्देश फैलाउँदै यात्रा गरिरहेका छन्। बारा जिल्लामा प्रवेश गर्ने क्रममा ‍¥यालीमा सहभागी युवाहरुलाई पथलैया र सिमरामा विशेष स्वागत गरिएको थियो।

पथलैयामा नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले,र सिमरामा ईलाका प्रहरी कार्यालय सिमरा तथा नयाँ गोरेटो पुनस्र्थापना केन्द्रले स्वागत कार्यक्रम आयोजना गरेका थिए । साथै सिमरास्थित अल्पाइन अस्पतालमा आयोजित सचेतना सभाले अभियानको गहिरो सन्देश दिएको छ।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी,ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख तेजराज शर्मा र प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सम्बोधन गर्दै लागूऔषध विरुद्ध युवाहरूको संलग्नता र प्रतिबद्धताको प्रशंसा गरे।

प्रदेशसभा सदस्य चौधरीले भने, “युवाहरू आफैं अग्रसर भएर यस्तो अभियानमा जुट्नु समाजमा चेतनाको बलियो सन्देश हो। यो समस्याको जरा उखेल्न यिनै युवाहरू परिवर्तनका वाहक हुन्।” प्रशासक शर्माले सचेतनामूलक यात्रा समाज रूपान्तरणतर्फको महत्त्वपूर्ण कदम भएको बताउँदै कुलतमा फसेका युवालाई नयाँ दिशा दिनसक्ने आशा व्यक्त गरे। प्रहरी नायब उपरीक्षक जोशीले भने, “लागूऔषध नियन्त्रण प्रहरीको मात्र होइन,सबैको साझा जिम्मेवारी रहेको बताए।

कार्यक्रममा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेल,ट्राफिक प्रहरी नायब उपरीक्षक वकिल सिंह,रेडक्रस सोसाइटी सिमरा उपशाखा प्रमुख तथा अल्पाइन अस्पताल सञ्चालक शिवकुमार शर्मा,एमाले नगर अध्यक्ष त्रिलोक बिक्रम शाहलगायतको उपस्थिति रहेको थियो।

नयाँ गोरेटो पुनस्र्थापना केन्द्रका अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा सम्पन्न उक्त सचेतना सभाको सञ्चालन प्रदीप गौतमले गरेका थिए। उक्त मोटरसाइकल ‍र्‍याली ‘लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ को अवसर पारेर रोयल इन्फिल्ड्स र केटीएम बाइक सपको संयोजनमा आयोजना गरिएको हो।

Leave a review

This will close in 0 seconds