बारामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

साझेदारी डेलि
179 पाठक संख्या

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ बैजुरा पुलस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार दिउँसो पथलैयाबाट निजगढतर्फ जाँदै गरेको ना.१ अ.यो. १३४ नम्बरको खाली टिपरले पिलुवाबाट पथलैयातर्फ आउँदै गरेको प्रदेश २–०३–०२२ प ९६४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक जितपुरसिमरा उपमहानगरपालिका–१६ डुमरवानाका बलबहादुर चौरेलका ५२ वर्षीय छोरा देवबहादुर चौरेल गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो।

अस्पतालमा इसिजी परीक्षणपछि चिकित्सकले दिउँसो १२ः५० बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। मृतकको शव बयोधा अस्पतालमै राखिएको बाराका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले जानकारी दिए ।

उनका अनुसार दुर्घटनापछि फरार भएका टिपर चालक बारा जिल्लाको प्रसौनी गाउँपालिका–१ प्रसौनीमा बस्ने अन्दाजी ५८ वर्षीय धुर्वदेव हजरालाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा प्रहरी चौकी पथलैया, इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली खटिएको थियो। दुर्घटनामा संलग्न टिपर र मोटरसाइकल इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेका छन्। उक्त घटनाबारे थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी घलेले जानकारी दिए ।

Leave a review