विदेश र निर्वाचन क्षेत्रबाहिरका मतदातालाई मतदानको अवसरबारे कलैयामा युवासँग संवाद

साझेदारी डेलि
69 पाठक संख्या

कलैया । विदेशमा रहेका तथा आफ्नो स्थायी निर्वाचन क्षेत्रभन्दा अन्य स्थानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा कलैयामा युवासँग छलफल गरिएको छ। सूचनाको हकका लागि राष्ट्रिय महासंघ, काठमाडौंको आयोजनामा सोमबार बारा उद्योग वाणिज्य संघको सभाहलमा युवासँग लघु संवाद कार्यक्रम आयोजना गरिएको थियो।

निर्वाचनमा सबै नागरिकको सहभागिता सुनिश्चित गर्न अपनाउन सकिने वैकल्पिक मतदान प्रणाली, त्यसका चुनौती र आवश्यक कानुनी तथा प्राविधिक व्यवस्थाबारे कार्यक्रममा चर्चा भएको हो। कार्यक्रममा निर्वाचन प्रणालीमा सुधार, मताधिकारको प्रयोग तथा विदेश र निर्वाचन क्षेत्रबाहिर रहेका मतदाताको सहभागिताका विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो।

पत्रकार उपेन्द्र ठाकुरले बाराको निर्वाचनसम्बन्धी तथ्यांक प्रस्तुत गर्दै जिल्लाको मतदाता संख्या, विगतका निर्वाचनमा भएको मतदान, हाल सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खसेको मत तथा स्थानीय तह र निर्वाचन क्षेत्रअनुसारको वडागत विवरणबारे जानकारी गराउनुभयो।

यसैगरी कार्यक्रमा प्राध्यापक डा. चिरञ्जीवी खनालले विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर बसोबास गर्ने नेपालीलाई निर्वाचनमा सहभागी गराउने सम्भावित उपायबारे प्रस्तुतीकरण गर्नुभयो। उहाँले मताधिकार कार्यान्वयनका क्रममा देखिन सक्ने अवसर तथा चुनौतीका विषयमा समेत चर्चा गर्नुभयो। कार्यक्रममा किरण पौडेलले हाल सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खसेको मत, बदर मतलगायत निर्वाचनसँग सम्बन्धित तथ्यांक संकलनका विषयमा जानकारी दिनुभयो।

समूहगत छलफलका क्रममा सहभागी युवाहरूले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारबाट वञ्चित हुन नदिन आवश्यक कानुनी र प्राविधिक व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए। उनीहरूले स्थायी निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाताले समेत सहज, सुरक्षित र विश्वसनीय ढंगले मतदान गर्न सक्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।

विदेशमा रहेका नेपालीका लागि सम्बन्धित देशमै मतदान केन्द्र स्थापना गर्ने, विद्युतीय मतदान प्रणालीको प्रयोग गर्ने वा अन्य वैकल्पिक माध्यम अपनाउने विषयमा थप अध्ययन र बहस आवश्यक रहेको सहभागीहरूको भनाइ थियो। ठूलो संख्यामा नेपाली नागरिक देशबाहिर तथा आफ्नो निर्वाचन क्षेत्रभन्दा फरक स्थानमा बसोबास गरिरहेकाले उनीहरूको राजनीतिक सहभागितालाई निर्वाचन प्रणालीसँग जोडेर हेर्नुपर्ने सहभागी युवाहरूको धारणा थियो।

सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दको अध्यक्षतामा भएको सो कार्यक्रमको सहजीकरण महासंघका केन्द्रीय सदस्य सन्तोष पाण्डेले गर्नुभएको थियो। कार्यक्रममा अभियन्ता, अधिकारकर्मी, युवा, जेन्जी समूह, विद्यार्थी, पत्रकार तथा कानुन व्यवसायीसहित करिब ३० जनाको सहभागिता थियो।

Leave a review