बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
सिम्रौनगढ नगरपालिका–६, सलेमपुरस्थित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा बीओपी गोलागञ्जबाट खटिएको टोलीले सोमबार शंकास्पद अवस्थामा चेकजाँच गर्दा सिम्रौनगढ नगरपालिका–२, अमृतगञ्ज निवासी शिल्त महतोका छोरा अन्दाजी ५० वर्षीय जयप्रकाश प्रसाद कुशवाहालाई पक्राउ गरेको हो।
उनको साथबाट दुई थान कटुवा पेस्तोल, पाँच थान गोली र हिरो कम्पनीको एक थान मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक विक्रम मणि अधिकारीले जानकारी दिए।
उनका अनुसार पक्राउ परेका कुशवाहालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको छ ।


