प्रधानमन्त्री ओलीद्वारा परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन

साझेदारी दैनिक
162 पाठक संख्या

कलैया । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गरेका छन्।

तराई–मधेशको सुक्खा क्षेत्रको अवलोकन गर्न बारा पुगेका प्रधानमन्त्री ओलीले परवानीपुर बजारमा निर्माण गरिएको कार्यालय भवन उद्घाटन गर्दै स्थानीय जनतालाई प्रभावकारी सेवा प्रवाह हुने विश्वास व्यक्त गरे।

उनले भवन निर्माणमा अग्रसर जनप्रतिनिधि र निरन्तरता दिएका कर्मचारीलाई धन्यवाद दिँदै, मधेशमा सडक तथा पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताए। तर, केही स्थानमा ठेकेदारको लापरवाहीका कारण काममा ढिलाइ भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले बारालाई माछा उत्पादनको ‘सुपर जोन’ घोषणा गरिएकाले यसले किसानको जीवनस्तर उकास्न सहयोग पुग्ने बताए। कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन बृद्धिका लागि सरकारले ठोस कार्यक्रम अगाडि बढाएको पनि उनले उल्लेख गरे।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारले करिब चार वर्षको अवधिमा गाउँपालिकाको आन्तरिक स्रोतबाट ३ करोड २५ लाख ९१ हजार ५९१ रुपैयाँ खर्चेर भवन निर्माण सम्पन्न भएको जानकारी दिए।

Leave a review

This will close in 0 seconds