रौतहट : रौतहटको फतुवा विजयपुर नगरपालिकाले शुक्रबार आफ्नो नवौं नगर सभामा आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ३२ लाख ९५ हजार १ सय ५१ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको नवौं नगरसभा पालिकाकै प्राङ्गणमा सम्पन्न भएको हो।
नवौं नगरसभाले नगरका समग्र विकास लागि सो बजेट सार्वजनिक गरेको हो। प्रस्तावित बजेटमध्ये २० करोड ६८ लाख ७१ हजार रुपैयाँ पूँजीगततर्फ र ३५ करोड ६४ लाख २४ हजार १ सय ५१ रुपैयाँ चालूतर्फ नगरपालिकाले विनियोजन गरेको छ।
शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, कृषि, पोषण र रोजगारीजस्ता क्षेत्रमा विशेष प्राथमिकता दिदै सो बजेट सार्वजनिक गरिएको हो। नगर प्रमुख गोपाल राय यादव भ्रष्टाचार मुद्दामा निलम्बित भएका छन्। यसपछि कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी नगर उप प्रमुख अम्बेया खातुनको अध्यक्षतामा सो सभा सम्पन्न भएको हो। नगरसभामा वडा अध्यक्ष राजेश यादवले चालू आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पूर्वाधार निर्माण लगाएत कार्यलाई विशेष प्राथमिकता दिइएको छ। नगरपालिका क्षेत्र भित्र रहेका ऐलानी, पर्ति, सार्वजनिक जग्गाको खोजी, रेखांकन, र संरक्षण गर्ने कार्य यसै वर्षदेखि सुरु गरिने नीति तथा कार्यक्रममा लेखिएको छ।
यस पालिका भित्र २० वर्ष भन्दा बढी काम गरिसकेका कर्मचारीलाई सम्मान सहितको स्वेच्छिक अवकाशको योजना ल्याइने जनाइएको छ। पालिका भित्रका ८४ जना गरिव, सुकुम्बासीलाई यस चालू आर्थिक वर्ष भित्रमा जग्गा श्रेस्ता प्रमाण पुर्जा वितरण गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रममा वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादव, लेखापाल कामेश्वर सहनी, प्रदेश सभा सदस्य प्रत्याशी समाजसेवी मोहम्मद शेराज, नगरपालिकाको कर्मचारीहरू, पत्रकार लगायत स्थानीय बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको थियो।

