कलैया : नेपाली कांग्रेसका सह महामन्त्री उमाकान्त चौधरीले संविधानको पालना आवश्यक रहेको बताएका छन्। बाराको
कलैयास्थित वि.पि स्मृति भवन नेपाली कांग्रेस बाराको पार्टी कार्यालयमा संविधान दिवको अवसरमा शुक्रबार आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै सह महामन्त्री चौधरीले यस्तो बताएका हुन्।
उक्त विचार गोष्ठी नेपाली कांग्रेस बाराले आयोजना गरेको हो। सबैको साझा र सवैको उत्तरदायीत्व बोध हुने गरी संविधानको पालना गर्नुपर्छ भन्दै उनले विधिको पालना सबैकोलागि आवश्यक रहेको बताए। जेन जी आन्दोलनमा सहिद भएका प्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना समेत सह महामन्त्री चौधरीले उक्त अवसरमा व्यक्त गरे।
जेन जी यूवाहरुले गरेका आन्दोलनमा केही अराजक तत्वका व्यक्ति तथा केही अन्य राजनीतिक दलका समूहहरुले तोडफोड, आगजनी तथा लुटपाट जस्ता कार्यहरु गरेको उनले जनाए। नेपाली काँग्रेस संविधानको पालना गरी लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएकोले त्यस्ता त्रियाकलाप गर्ने व्यक्तिलाई कानुनको दायरा भित्र ल्याउन नेपाल सरकार समक्ष उनले जोडदार माग गरे। लोकतान्त्रिक गणतान्त्रिक संविधानले हरेक नेपालीलाई हक अधिकार सुनिश्चित गरेको उनले जनाए। सबैले आफनो संविधान भएको महसुस गर्नुपर्ने उनले जनाए।
नेपाली काग्रेस बाराको जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा सो कार्यक्रम भएको हो। यादवले विधिको शासनमा जोड दिदै संविधानको रक्षा हरेक नेपालीको दायित्व र कर्तव्य भएको जनाए ।
उक्त कार्यक्रममा उपसभापति अमिरीलाल पाल, कोषाध्यक्ष बासदेव चौधरी,पूर्व मन्त्री कलावती पासवान, केन्द्रिय आमन्त्रित सदस्य नारायणी रायाझी, पुर्व क्षेत्रिय सभापित मुकेश कुशवाहा, बारा क्षेत्र नं. ४ का क्षेत्रिय सभापति सुनिल कुमार गुप्ता, पूर्व सभासद शोभा लामा, क्षेत्र नं. २ (ख) क्षेत्रीय सभापति हरिलाल यादव, क्षेत्र नं. ३ (ख) क्षेत्रीय सभापति हरिप्रवेश यादव,क्षेत्र नं. ४ (ख) क्षेत्रीय सभापति लोकेश सिंह,नेपाल तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेल लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।


