जेनजीद्वारा भ्रष्टाचार तथा अन्याय विरुद्ध रौतहटमा मोटरसाइकल र्‍याली

Om Prakash Yadav
339 पाठक संख्या

रौतहट । नयाँ पुस्ताका जेनजी यूवाहरुले देशमा बढ्दो भ्रष्टाचार र अन्याय विरुद्ध रौतहट जिल्लामा शनिबार मोटरसाइकल र्‍याली निकालेका छन्। उनीहरुले राजनीतिक नेतृत्वप्रति असन्तुष्टि जनाउँदै र्‍याली निकालेका हुन्।

बढ्दो भ्रष्टाचार, कुशासन र राजनीतिक नेतृत्वको गैरजवाफदेहिताविरुद्ध विक्रम यादवको नेतृत्वमा नयाँ पुस्ताका युवाहरूले र्‍याली आयोजना गरेका हुन्।

सयौ यूवाहरुको सहभागितामा गरुडा नगरपालिकाबाट सुरु भएको र्‍याली सदरमुकाम गौर पुगेर समापन भएको थियो। उनीहरूले “भ्रष्टाचार अन्त्य गर”, “नयाँ पुस्ताको आवाज सुन्ने बेला भयो” जस्ता नाराबाजी गर्दै सडक प्रदर्शन गरेका थिए।

युवा पुस्ताको उत्साह रहेको उक्त र्‍यालीले स्थानीयको ध्यान आकर्षित गरेको थियो। र्‍यालीको उद्देश्य देशमा सुशासन, जवाफदेही नेतृत्व र युवाको आवाज सुन्ने वातावरण बनाउने रहेको छ।

देशको भविष्य सुरक्षित राख्नका लागि अब नयाँ पुस्ताले नै नेतृत्व लिनुपर्ने समय आएको यूवाहरु बताउँछन्। र्‍यालीको क्रममा स्थानीय बासिन्दा र व्यापारीहरूले पनि युवाहरूको अभियानप्रति समर्थन जनाएका थिए।

भ्रष्टाचार र अन्यायविरुद्ध जनचेतना जगाउने उद्देश्यका साथ देशका विभिन्न जिल्लामा पनि यस्ता अभियान सञ्चालन गरिने आयोजकहरुले बताएका छन्।

Leave a review

This will close in 0 seconds