रौतहट । रौतहटमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक फुसको घर पूर्ण रूपमा जलेर खरानी भएको छ ।
रौतहट जिल्लाको माधवनारायण नगरपालिका–६ माधोपुरमा शुक्रवार राति करिब ११ः५० बजे सतनारायण यादवका ४० वर्षीय छोरा भोजेन्द्र राय यादवको फुसको घरभित्र विद्युत् तार सर्ट भई आगो लाग्दा घर पुर्ण रूपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट घरभित्र रहेको खाद्यान्न गरगहना, फर्निचर, लत्ताकपडा तथा नगद १ लाख ५० हजार रुपैयाँसहित करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी माधोपुरबाट खटिएको टोली तथा स्थानीय बासिन्दाको सहयोगमा करिब १२ः५५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनामा कुनै मानवीय क्षेती नभएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णुप्रदीप बस्यालले बताएका छन्। उनका अनुसार घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ।

