नेपाली कांग्रेसद्धारा वडा अध्यक्ष वाग्ले सम्मानित

रञ्जन यादव
446 पाठक संख्या

बारा : नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३, बाराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष चतुरबाबु वाग्लेलाई शनिबार एक कार्यक्रमबीच सम्मानित गरेको छ।

क्षेत्रीय कार्यसमितिले विशेष कार्यक्रम आयोजना गरेर वडा अध्यक्ष वाग्लेलाई सम्मान गरेको हो । आफ्नो वडामा उल्लेखनीय र उदाहरणीय कार्य सम्पादन गरेको, साथै नेपाल सरकारबाट प्राप्त पारिश्रमिकसमेत जनताकै सेवामा समर्पित गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको हो।

वडा अध्यक्ष वाग्लेले गरिब, दिनदुखी तथा विपन्न परिवारलाई लक्षित गरी गाईको बाछी वितरण गर्ने, तीनवटा विद्यालयमा छात्रवृत्ति अक्षयकोष निर्माण गर्ने, शिक्षा र विकासका क्षेत्रमा लगनशीलतापूर्वक काम गर्ने तथा कुनै पनि प्रकारको पूर्वाग्रह नराखी निष्पक्ष रूपमा सेवा प्रदान गर्दै आएको कारण सम्मान कार्यक्रम आयोजना गरिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ।

नेपाली कांग्रेस क्षेत्रीय सभापति प्रभात कुमार चौरासियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री फरमुल्लाह मन्सुर प्रमुख अतिथि रहनु भएको थियो। साथै कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति जयचन्द चौरासिया, उपमेयर प्रत्याशी मेघा शाही, क्षेत्रीय सचिव राजेश भण्डारी, मुस्लिम संघका महासचिव प्रबेज अन्सारी, महाधिवेशन प्रतिनिधिहरू, वडा सभापतिहरू, वडा अध्यक्षका उम्मेदवारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले वडा अध्यक्ष वाग्लेको सामाजिक उत्तरदायित्व, पारदर्शिता, विकासप्रति प्रतिबद्धता र जनमुखी कार्यशैलीको प्रशंसा गर्दै यस्ता कार्यले स्थानीय तहमा सुशासन र जनविश्वास मजबुत हुने बताएका थिए।

Leave a review