कलैया । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख तथा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले गैरकानूनी तथा उत्तेजक गतिविधिहरूलाई गम्भीरतापूर्वक लिई कानुनी कारवाही गरिने जनाएका छन्। प्रजिअ मिश्रले सोमबार एक सार्वजनिक सूचना जारी गरी यस्तो जनाएका हुन्।
अन्तर्राष्ट्रिय स्तरमा विभिन्न मुलुकमा भएका केही घटनाक्रमलाई आधार बनाई विगत केही दिनयता हिन्दु तथा मुस्लिम धार्मिक समुदायबीच एक–अर्कालाई लक्षित गरी गलत, आपत्तिजनक तथा उत्तेजक अभिव्यक्ति, आरोप–प्रत्यारोप सामाजिक सञ्जालमार्फत प्रसारण भइरहेको विषयप्रति प्रशासनकोे गम्भीर ध्यानाकर्षण भएको सूचनामा जनाइएको छ।
नेपालमा जेनजि आन्दोलन पश्चात विकसित राजनीतिक परिवेश तथा निकट भविष्यमा नजिकिँदै गएको प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थापनलाई समेत दृष्टिगत गर्दा यस्ता गतिविधिहरू बढ्दै गएमा आपसी द्वेष भावना फैलन गई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकतामा गम्भीर खलल् पुग्न सक्ने देखिन्छ सूचनामा लेखिएको छ। यसले समग्र शान्ति, सहअस्तित्व र आपसी समझदारीमा नकारात्मक असर पार्ने भएकाले सबै पक्षलाई संयमित र जिम्मेवार रहन सूचनामा आग्रह गरिएको छ।
कुनै पनि समुदायबीच उत्पन्न हुने विवाद वा समस्या भएमा प्रचलित कानून, संवाद तथा प्रशासनिक संयन्त्र मार्फत समाधान खोज्नुपर्नेमा यस कार्यालय जोड दिइएको छ।
विभिन्न सामाजिक सञ्जाल समेतको प्रयोग गरी सामाजिक सद्भावमा खलल पुर्याउने, धार्मिक, सामाजिक वा सांस्कृतिक द्वेष भावना सिर्जना गर्ने, राष्ट्रिय एकतामा आँच पुर्याउने वा झुठा अफवाह फैलाएर कुनै धर्म वा समुदायको सामाजिक मर्यादामा आघात पुर्याउने कार्यमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानून बमोजिम कडाईका साथ कारबाही गरिने प्रजिअ मिश्र द्वारा जारी सूचनामा जानकारी गराईएको छ।
यसै सन्दर्भमा विभिन्न सामाजिक सञ्जाल खाताहरूको गतिविधि सूक्ष्म रूपमा निगरानी भइरहेको जानकारी गराइएको छ। यस्ता गैरकानूनी तथा उत्तेजक गतिविधिहरूलाई गम्भीरतापूर्वक लिई प्रचलित कानून अनुसार कानूनी दायरामा ल्याईने सम्बन्धि सबैमा सो सूचना मार्फत जानकारी गराइएको छ।


