मकर संक्रान्तिमा हिन्दु स्वयंसेवक संघद्वारा खिचडी वितरण

साझेदारी दैनिक
193 पाठक संख्या

जीतपुर : बाराको जीतपुरमा हिन्दु स्वयंसेवक संघ नेपाल, जीतपुरले मकर संक्रान्तिको पावन अवसरमा खिचडी वितरण कार्यक्रम सम्पन्न गरेको छ। समता, ममता र सामाजिक समरसताको सन्देश बोकेको मकर संक्रान्तिलाई संघले ‘समरसता उत्सव’का रूपमा मनाउँदै श्रद्धालु तथा सर्वसाधारणलाई प्रसादस्वरूप खिचडी वितरण गरेको हो।

हिन्दु स्वयंसेवक संघ नेपाल, जीतपुरका नगर कार्यबाहक विकास गुप्ताका अनुसार समाजमा आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। “यस उत्सवले कोही सानो वा ठूलो हुँदैन भन्ने सन्देश दिन्छ,” उनले भने, “मकर संक्रान्ति केवल धार्मिक पर्व मात्र नभई सामाजिक एकता र समरसताको प्रतीक पनि हो।”

श्री बंगाली बाबा युग मठबाट सुरु भएको खिचडी वितरण कार्यक्रम जीतपुरको तरकारी बजारसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा श्रद्धालु भक्तजन, स्थानीय व्यापारी, यात्रु तथा सर्वसाधारण गरी १ हजार २ सयभन्दा बढी व्यक्तिलाई खिचडी वितरण गरी खुवाइएको संघले जनाएको छ।

कार्यक्रममा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूले बिहानैदेखि तयारी गरी स्वच्छ र व्यवस्थित रूपमा प्रसाद वितरण गरेका थिए। स्थानीयवासीहरूले यस्ता सामाजिक तथा धार्मिक कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने बताएका छन्। संघले आगामी दिनहरूमा पनि धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता प्रवद्र्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Leave a review

This will close in 0 seconds