रौतहट । रौतहटको माधवनारायण नगरपालिकाको नव-निर्मित प्रशासनिक भवन आज एक विशेष समारोहका बीच विधिपूर्वक उद्घाटन गरिएको छ।
जिल्लामै पहिलो पटक लिफ्टसहित अत्याधुनिक डिजाइनमा निर्माण गरिएको सुविधा सम्पन्न नगरपालिकाको आफ्नै प्रशासनिक भवन नगर प्रमुख बैजनाथ प्रसाद यादवले पूजा–अर्चना गरी औपचारिक रूपमा उद्घाटन गरेका हुन्।
माधोपुरस्थित उक्त नयाँ भवनलाई जिल्लाकै नमुना प्रशासनिक संरचनाका रूपमा हेरिएको छ। आधुनिक पूर्वाधार, व्यवस्थित सेवा प्रवाह तथा सेवाग्राहीमैत्री वातावरणलाई ध्यानमा राखेर निर्माण गरिएको भवनमा लिफ्टसहित विभिन्न प्रशासनिक शाखाहरू सञ्चालनका लागि आवश्यक संरचना तयार गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार निवर्तमान निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्जिनियर नागेन्द्र यादवले तयार पारेको डिजाइन तथा नक्साअनुसार भवन निर्माण गरिएको हो। भवन निर्माण कार्यमा आधुनिक संरचनात्मक मापदण्ड अपनाइएको बताइएको छ।
नगर प्रमुख बैजनाथ प्रसाद यादवले २०८१ सालमा नगरपालिकाको स्थायी प्रशासनिक भवन निर्माणका लागि आफ्नो निजी जग्गा निःशुल्क रूपमा नगरपालिकालाई उपलब्ध गराएका थिए।
नगर प्रमुख यादवले व्यक्तिगत स्वामित्वको जग्गा नगरपालिकालाई दान गरेपछि सोही स्थानमा करोडौं रुपैयाँको लागतमा प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढाइएको थियो। स्थानीय तहको संस्थागत विकासका लागि नगर प्रमुखले गरेको उक्त योगदानलाई स्थानीयवासीले प्रशंसनीय कदमका रूपमा लिएका छन्।
आज उद्घाटन गरिएको भवनबाट आगामी सोमबारदेखि सम्पूर्ण प्रशासनिक सेवा आफ्नै भवनबाट सञ्चालन गरिने नगर प्रमुख यादवले जानकारी दिए। यसअघि विभिन्न व्यवस्थापन चुनौतीबीच सञ्चालन हुँदै आएको नगरपालिकाको सेवा अब आधुनिक, व्यवस्थित र आफ्नै पूर्वाधारबाट प्रवाह हुने भएपछि सेवाग्राहीलाई थप सहजता हुने अपेक्षा गरिएको छ।
नयाँ भवन उद्घाटनसँगै माधवनारायण नगरपालिकाले प्रशासनिक पूर्वाधार विकासमा महत्वपूर्ण फड्को मारेको स्थानीयवासीको भनाइ छ। आधुनिक भवन सञ्चालनमा आएपछि सेवा प्रवाह थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बन्ने विश्वास गरिएको छ।

