रौतहट : निलम्बित नगरप्रमुख, विवादित कार्यवाहक र करार कर्मचारीको संघर्षले गर्दा रौतहटको फतुवा विजयपुर नगरपालिका संकटमा परेको छ। नगरपालिकामा वर्षभर करिब ३ महिना तालाबन्दी हुने गरेकोले यस नगरपालिकाको कामकाज निरन्तर प्रभावित हुने गरेको छ।
कर्मचारीले तलब समयमा नपाउँदा र जनप्रतिनिधिहरूको मनमानी निर्णयका कारण यहाँ समस्या रहने गरेको छ। स्थानीय तहमा करार कर्मचारीहरूको म्याद थप नगर्ने निर्णय भएकोमा यस विषयको विवाद यस पटक उत्कर्षमा पुगेको छ। नेपाल सरकारको निर्णयपछि कर्मचारीहरू धर्नामा बसेका छन्। यसले वडामा दैनिक सेवा कार्य ठप्प बनाएको छ।
कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले नयाँ कार्यालय प्रमुख आएपछि मात्र दरबन्दी मिलान प्रक्रिया अघि बढ्ने बताइन्। आवश्यक कर्मचारी मात्र पालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने जनाउदै उनले प्रक्रिया सुरु हुनुअघि नै केही कर्मचारीहरूले धर्ना सुरु गरेको बताइन्। विद्युत् महसुल भुक्तानीका लागि नगरपालिकाले २ करोड रुपैयाँ विनियोजन गरिसकेकोमा मन्त्रालयको नयाँ निर्देशनले वितरणमुखी कार्यक्रम सञ्चालनमा प्रतिबन्ध लगाएको जनाइन्।
करार कर्मचारीहरूले म्याद थपको लिखित आश्वासन नआएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन्। नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रक्रिया ठप्प भएको छ। कार्यवाहक नगरप्रमुखले कार्यालय सञ्चालनमा चुनौती भोग्नुपरेको छ। फतुवा विजयपुर नगरपालिकामा विवादको मूल कारण जनप्रतिनिधि र कर्मचारीबीचको द्वन्द रहेकोले हो। केही जनप्रतिनिधिहरूले आफ्नो भोट बैंक सुरक्षित गर्न कर्मचारीलाई धर्नामा उभ्याएको आरोप रहेको छ।
नगरप्रमुख गोपाल यादव गिट्टी बालुवा र खोला ठेक्का प्रकरणमा अख्तियारमा उजूरी परेपछि उनी निलम्बनमा छन्। नगरपालिका वेबसाइटमा अझै उनको नाम फोटोसहित प्रमुख पदको रूपमा राखिएको छ। विद्युत् महसुल भुक्तानीको विवाद पनि रहेको छ। लोकसेवाको तयारी गरिरहेका स्थानीय विद्यार्थीहरूले करार कर्मचारीको म्याद थप भए नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्। फतुवा विजयपुरमा बन्द–खुलाको अवस्था निरन्तर जारी छ।

