पर्सामा एक महिनामा घरेलु हिंसाका ५८ उजुरी : सबै विवाद र उजुरी मेलमिलापबाट समाधान

साझेदारी डेलि
29 पाठक संख्या

वीरगञ्ज । पर्सा जिल्लामा घरेलु हिंसासम्बन्धी उजुरीको संख्या बढ्दो क्रममा देखिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको असार महिनाको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा मात्रै ५८ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन्।

प्रहरीका अनुसार अधिकांश उजुरी श्रीमान–श्रीमतीबीचको विवाद, पारिवारिक असमझदारी तथा घरेलु उत्पीडनसँग सम्बन्धित रहेका छन्। दर्ता भएका सबै उजुरी कानुनी मुद्दामा रूपान्तरण नगरी छलफल र मेलमिलापको माध्यमबाट समाधान गरिएको कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार घरेलु विवादमा प्रहरीको पहिलो प्रयास सम्बन्ध विच्छेद वा कानुनी कारबाहीभन्दा परिवारभित्र संवाद र समझदारी कायम गराउनेतर्फ केन्द्रित रहने गरेको छ। त्यसका लागि जिल्ला प्रहरी कार्यालयसँगै मातहतका इलाका र वडा प्रहरी कार्यालयले समेत समन्वयात्मक भूमिका निर्वाह गर्दै आएका छन्।

पालिकागत विवरणले वीरगञ्ज महानगरपालिकामा घरेलु हिंसाका घटना सबैभन्दा बढी देखाएको छ। असार महिनामा महानगरबाट मात्रै ३५ वटा उजुरी दर्ता भएका छन्। बहुदरमाई नगरपालिकाबाट ४, जगरनाथपुर गाउँपालिकाबाट ४, बिन्दवासिनी र सखुवाप्रसौनी गाउँपालिकाबाट ३–३ तथा पर्सागढी, पोखरिया, पकाहामैनपुर र पटेर्वासुगौलीबाट २–२ वटा उजुरी प्रहरीमा पुगेका छन्। कालिकामाई गाउँपालिकाबाट १ वटा उजुरी दर्ता भएको तथ्याङ्कमा उल्लेख छ।

यद्यपि, ठोरी, छिपहरमाई, धोबिनी र जिराभवानी गाउँपालिकाबाट भने समीक्षा अवधिमा घरेलु हिंसासम्बन्धी कुनै उजुरी नआएको प्रहरीले जनाएको छ। प्रहरीले घरेलु हिंसाका घटना लुकाएर राख्नुभन्दा समयमै सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ। हिंसाका घटनामा पीडितको सुरक्षा सुनिश्चित गर्दै कानुनी उपचारका साथै पारिवारिक सम्बन्ध सुधारका लागि आवश्यक परामर्श र सहजीकरणलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।

Leave a review

This will close in 0 seconds