कलैयामा ट्राफिकको कडा निगरानी,नियम उल्लङ्घन गर्ने २१ सवारी कारबाहीमा

संदिप प्रसाद यादव
38 पाठक संख्या

कलैया । बारामा बढ्दो सवारी दुर्घटना नियन्त्रण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाले मंगलबार विशेष छड्के ट्राफिक जाँच अभियान सञ्चालन गरेको छ। अभियानका क्रममा विभिन्न प्रकारका ट्राफिक नियम उल्लङ्घन गर्ने २१ वटा सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी पोस्ट कलैयाको कार्यालय अगाडि सञ्चालन गरिएको विशेष चेकिङमा १५ वटा अटो, दुई वटा ट्र्याक्टर र चार वटा मोटरसाइकल गरी कुल २१ वटा सवारीसाधनलाई आवश्यक कागजात अभाव तथा ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि कानुनी कारबाही गरिएको हो।

अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रहरी सहायक निरीक्षक प्रिन्शानन्द यादव का अनुसार मोटरसाइकल चालकहरूलाई हेल्मेट प्रयोग नगरी सवारी चलाएको, एउटै मोटरसाइकलमा तीन जना सवार भएको तथा चालक अनुमति पत्र, ब्लुबुकलगायत आवश्यक कागजात साथमा नराखेको अवस्थामा कारबाही गरिएको हो।

त्यसैगरी अटो चालकहरूले क्षमताभन्दा बढी यात्रु बोकेको, रुट परमिटबिनै सवारी सञ्चालन गरेको तथा वैध चालक अनुमति पत्र बिना सार्वजनिक सवारी चलाएको पाइएपछि उनीहरूमाथि पनि ट्राफिक ऐनअनुसार कारबाही गरिएको उनले जानकारी दिए। ट्र्याक्टर चालकहरूलाई समेत आवश्यक मापदण्ड विपरीत सवारी सञ्चालन गरेको आधारमा जरिवाना गरिएको छ।

चेकिङ अभियानका क्रममा अटो, मोटरसाइकल, ट्र्याक्टर, ट्रक तथा अन्य सवारीसाधन गरी करिब दुई सयभन्दा बढी सवारीको लाइसेन्स, ब्लुबुक, रुट परमिट, सवारी दर्ता तथा अन्य आवश्यक कागजात सूक्ष्म रूपमा परीक्षण गरिएको प्रहरीले जनाएको छ। सामान्य प्रकृतिका कमजोरी भेटिएका चालकलाई भने यसपटक सचेत गराएर आवश्यक कागजात मिलाउन निर्देशन दिइएको छ।

प्रहरी सहायक निरीक्षक यादवले ट्राफिक नियमको पालना गर्नु सबै चालकको दायित्व भएको उल्लेख गर्दै हेल्मेटको अनिवार्य प्रयोग गर्न, अटोमा तोकिएको क्षमताभन्दा बढी यात्रु नबोक्न, आवश्यक कागजात सधैं साथमा राख्न तथा मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरेका छन्।

उनले दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात व्यवस्था कायम राख्न यस्ता छड्के ट्राफिक जाँच अभियान आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिने जानकारी दिएका छन्। प्रहरीले नियम पालना गरेर सुरक्षित यात्रामा सहयोग गर्न सबै सवारी चालक तथा यात्रुसँग अपिलसमेत गरेको छ।

Leave a review

This will close in 0 seconds