धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न बारामा संयुक्त अपिल

साझेदारी डेलि
36 पाठक संख्या

बारा । सुनसरी र सिरहा लगायतका जिल्लामा हालै भएका घटनाप्रति दुःख व्यक्त गर्दै बारा जिल्लामा धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षले संयम अपनाउन संयुक्त अपिल गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा जिल्लामा क्रियाशील राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा जिल्ला सुरक्षा समितिका तर्फबाट संयुक्त अपिल जारी गरिएको हो।

अपिलमार्फत घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। विगतमा भएका द्वन्द्वबाट बारा जिल्लाले ठूलो क्षति व्यहोरेको स्मरण गर्दै त्यस्ता घटनाबाट अन्ततः स्थानीय नागरिक र समाज नै प्रभावित हुने भएकाले सबै सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ।

सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप, युट्युबलगायत माध्यमबाट भ्रामक सूचना तथा अफवाह फैलाउने, पुराना घटना र विषयलाई वर्तमान सन्दर्भमा जोडेर द्वेष फैलाउने तथा धर्म, आस्था, संस्कृति वा समुदायलाई लक्षित गरी घृणा फैलाउने गतिविधि नगर्न अपिल गरिएको छ।

त्यस्तै अमर्यादित टिप्पणी, उत्तेजक भाषण तथा प्रदर्शनमार्फत सामाजिक सद्भाव बिगार्ने प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। जुनसुकै वर्ग, समुदाय वा व्यक्तिबाट भए पनि सामाजिक सद्भावमा आँच पुर्‍याउने गतिविधि निन्दनीय रहेको संयुक्त अपिलमा उल्लेख छ।

जिल्लामा आपसी सद्भाव, शान्ति–सुरक्षा, अमनचयन, विविधता र बहुल पहिचान कायम राख्दै विभिन्न धर्म तथा सम्प्रदायबीच एकता, सहिष्णुता र भ्रातृत्व कायम गर्न सम्पूर्ण नागरिक, राजनीतिक दल, धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी, युवा तथा सञ्चारकर्मीलगायत सबै सरोकारवालालाई हातेमालो गर्न आग्रह गरिएको छ।

हालको संवेदनशील अवस्थामा संयमित रहँदै आ–आफ्नो स्थानबाट शान्ति सुव्यवस्था कायम राख्न भूमिका निर्वाह गर्न तथा कुनै पनि कार्यक्रम वा गतिविधिमार्फत समाजमा उत्तेजना फैलाउने र धार्मिक भावनामा आघात पुर्‍याउने कार्य नगर्न/नगराउन पनि अपिल गरिएको छ।

संयुक्त अपिलमा बारा जिल्लालाई धार्मिक, सामाजिक तथा सांस्कृतिक एकता र सहिष्णुताको नमुना जिल्ला बनाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

Leave a review

This will close in 0 seconds