बारामा शनिबार बृहत् सद्भाव र्‍याली, व्यापक सहभागिताका लागि प्रशासनको अपिल

साझेदारी डेलि
30 पाठक संख्या

बारा । जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न आयोजना गर्न लागिएको बृहत् सामाजिक सद्भाव र्‍यालीमा व्यापक सहभागिताका लागि अपिल गरेको छ ।

देशका विभिन्न जिल्लामा हालै देखिएका घटनाक्रम र त्यसपछि उत्पन्न प्रतिकूल अवस्थालाई दृष्टिगत गर्दै बारा जिल्लाका सम्पूर्ण समुदायबीच आपसी सद्भाव, मेलमिलाप, भाइचारा तथा सहिष्णुता कायम राख्ने उद्देश्यले सद्भाव र्‍याली आयोजना गर्न लागिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बाराले धार्मिक संघसंस्थाका अगुवा तथा प्रतिनिधि, विभिन्न धर्म तथा संस्कृतिमा आस्था राख्ने धर्मावलम्बी, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, सरोकारवाला, अधिकारकर्मी, सञ्चारकर्मी, टोल विकास संस्था, गैरसरकारी संस्था, नागरिक समाज, सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी र आम नागरिकलाई र्‍यालीमा अधिकतम सहभागिता जनाउन आग्रह गरेको छ।

प्रशासनले सद्भाव र्‍यालीलाई सन्देशमूलक, व्यापक र सफल बनाउन सबै पक्षबाट सहयोग तथा सहभागिताको अपेक्षा गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा जारी अपिलअनुसार साउन १६ गते शनिबार बिहान ठीक ८ बजे जिल्ला प्रशासन कार्यालय बाराबाट सद्भाव र्‍याली आयोजना हुनेछ।

Leave a review

This will close in 0 seconds