बारा । बाराको महागढीमाई नगरपालिकाका विभिन्न स्थानमा प्रहरीले अवैध रूपमा सञ्चालन हुँदै आएका घरेलु मदिरा उत्पादन गर्ने भट्टीमा छापा मारेर करिब १० हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ।
जिल्लाको महागढीमाई नगरपालिका–३ ग्वास टोल र वडा नम्बर १० गञ्जभवानीपुर गाउँमा शुक्रबार बिहान प्रहरीले संयुक्त रूपमा छापा मारेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। छापा मार्ने क्रममा घरेलु मदिरा उत्पादन गर्न प्रयोग गरिएको भट्टी तथा त्यहाँ रहेको करिब १० हजार लिटर कच्चा पदार्थ सोही स्थानमा नष्ट गरिएको हो।
त्यस्तै सानो प्लास्टिकका ११ वटा ड्रम र १ वटा टिनको ड्रम बरामद गरी जिल्ला प्रहरी कार्यालय बारामा ल्याएको प्रवक्ता घलेले जानकारी दिएका छन् ।
प्रवक्ता घलेका अनुसार महागढीमाई नगरपालिका–३ का सोभिलाल राम, खुबलाल राम, सावित्री पासवान, राजकुमार राम र अस्पताली राम तथा वडा नम्बर १० का भोला राम, प्रभु राम र रामानन्द जैसवालले सञ्चालन गरेका घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरिएको हो।
जिल्लाका विभिन्न क्षेत्रमा अवैध रूपमा घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरण भइरहेको पाइएमा निगरानी गरी कानुनी कारबाहीलाई निरन्तरता दिइने प्रवक्ता घलेले जानकारी दिए।
प्रहरी चौकी गञ्जभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुरप्रसाद यादवको कमाण्डमा ३ जना र जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब निरीक्षक नवलकिशोर साहको कमाण्डमा १३ जनाको संयुक्त टोली खटिएको थियो।


